‘विमानस्थलमा एक सेकेण्ड पनि विद्युत् आपूर्ति नरोकियोस’

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मंगलबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि निर्देशन दिएका हुन् ।
नियमित विद्युत आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात विद्युत कटौती हुँदा अध्यागमन लगायत स्थानमा अनधिकृत वा गैरकानुनी काम हुने भएकाले त्यसलाई नियन्त्रण गर्न समस्या पर्ने गृहमन्त्री थापाको भनाइ छ ।

कुन स्थानमा कस्तो समस्या छ । त्यसको पहिचान गर्नुहोस। कमसे कम अत्यावश्यक क्षेत्रमा नियमित र कुनै पनि समस्या आउँदासमेत विद्युत कटौती नहुने प्रबन्ध गर्नुहोस ।आवश्यक परेको विषयमा सरकारले सहयोग गर्छु उनले कार्यकारी निर्देशक घिसिङलाई भने ।
विमानस्थलमा थोरै मात्रै विद्युत अवरुद्ध हुँदा पनि त्यसबाट ठूलो समस्या आउने भएकाले विशेष ध्यान दिन मन्त्री थापाले कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराएका हुन् । कार्यकारी निर्देशक घिसिङले भने ‘भोल्टेज’ मा देखिने समस्याका कारण कहिलेकाहीँ सामान्य समस्या आउन सक्ने भएकाले त्यसलाई समाधान गर्न प्राधिकरण क्रियाशील रहेको बताए ।

समस्या समाधानका लागि प्राधिकरणले विशेष ध्यान दिएको अस्पताल, विमानस्थल तथा अत्यावश्यक क्षेत्रमा कुनै पनि समय विद्युत् आपूर्तिमा समस्या आउन नदिन हँदैसम्मको प्रयास गर्ने घिसिङको भनाइ थियो ।

सामान्य खालका समस्या आउन नदिन प्राधिकरण लागिपरेको छ । अत्यावश्यक क्षेत्रमा त झन समस्या आउनै हुँदैन भनेर हामीले प्रयास गरिरहेका छौँ घिसिङले भने । विद्युत चुहावट नियन्त्रणका लागि गृहमन्त्रालयलको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइदिन घिसिङले गृहमन्त्री थापालाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्