निजी क्षेत्रको ऊर्जा क्रान्ति: नेपालको ८०% बिजुली अब निजी कम्पनीको उत्पादन, १३ खर्ब लगानी
जेष्ठ, २१ काठमाडौं । एक दशकअघि भारतबाट बिजुली आयातमा निर्भर नेपाल आज विद्युत् निर्यात गर्ने देश बनेको छ। यो परिवर्तनको मुख्य आधार निजी क्षेत्र बनेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।
इप्पानका अनुसार हाल नेपालमा उत्पादन भइरहेको ४२ सय मेगावाट विद्युत्मध्ये ३५ सय मेगावाट अर्थात् ८० प्रतिशत हिस्सा निजी क्षेत्रको छ। निजी क्षेत्र प्रवेश गर्नुअघि २०५७ सालसम्म देशको कुल उत्पादन क्षमता मात्र २५२ मेगावाट थियो।
हाल ५ हजार ७९२ मेगावाट क्षमताका १८७ आयोजना निर्माणाधीन छन् भने थप २ हजार ८६२ मेगावाटका १३४ आयोजना पीपीए गरेर वित्तीय व्यवस्थापनको चरणमा पुगेका छन्। निजी क्षेत्रसँग अहिले ३४ हजार ३७७ मेगावाट क्षमताका ९१५ आयोजनाको अनुमतिपत्र रहेको छ।
विद्युत् निर्यातमा पनि निजी क्षेत्रको अग्रणी भूमिका देखिएको छ। वर्षायाममा भारत निर्यात भइरहेको १ हजार १६० मेगावाट विद्युत्मध्ये ८४१ मेगावाट निजी क्षेत्रका २९ आयोजनाबाट उत्पादन भइरहेको छ।
इप्पानका अनुसार जलविद्युत् क्षेत्रमा हालसम्म १३ खर्ब १० अर्ब रुपैयाँ लगानी भइसकेको छ। यसमध्ये ४ खर्ब ४० अर्ब रुपैयाँ निजी क्षेत्रकै प्रत्यक्ष लगानी हो। विद्युत् आयोजनामा १ करोड ५० लाखभन्दा बढी नेपालीले शेयरमार्फत सहभागिता जनाएका छन्।
निजी क्षेत्रले वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी कर, रोयल्टी तथा राजस्व योगदान गर्दै आएको छ भने तीन लाखभन्दा बढीलाई रोजगारी दिएको छ। साथै ३७०० किलोमिटर सडक, ४५० किलोमिटर सुरुङ, १६० स्वास्थ्य केन्द्र र १०५ विद्यालय निर्माणमा समेत योगदान पुर्याएको छ।
तर आगामी बजेटमार्फत ५० युनिटभन्दा बढी बिजुली खपतमा ३ प्रतिशत कर लगाउने सरकारी व्यवस्थाप्रति इप्पानले असन्तुष्टि जनाएको छ। इप्पानका महासचिव बलराम खतिवडाले विद्युत् खपत बढाउनुपर्ने बेला कर लगाएर उपभोक्तालाई निरुत्साहित गर्न खोजिएको टिप्पणी गरेका छन्।




प्रतिक्रिया दिनुहोस्