तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण ५० प्रतिशत सम्पन्न

जेष्ठ २०, काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–१ मा पर्ने १४० मिटर अग्लो मुख्य बाँध निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार मुख्य बाँध निर्माणका लागि आवश्यक कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिटमध्ये हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट कार्य सम्पन्न भइसकेको छ।

२०८१ साल चैत ७ गतेदेखि सुरु भएको बाँध निर्माण कार्य निर्धारित तालिकाअनुसार अगाडि बढिरहेको आयोजनाले जनाएको छ। एक सय ४० मिटर उचाइको मुख्य बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्याकेज–१ अन्तर्गत मुख्य बाँधसहितका संरचनाहरूको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ। आयोजनाका अनुसार यस प्याकेजको समग्र भौतिक प्रगति ५९ प्रतिशत पुगेको छ।

मुख्य बाँध निर्माणका लागि आवश्यक सुरुङलगायत अन्य पूर्वाधार संरचनाहरूको निर्माण सम्पन्न भइसकेको छ। बाँध निर्माणलाई सहज बनाउन सेती नदीको सफल पथान्तरण गरिसकिएको छ भने बाँधको माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा आवश्यक अस्थायी बाँध निर्माण कार्य पनि सम्पन्न भएको आयोजनाले जनाएको छ।

निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेकाले आयोजनाले निर्धारित समयमै लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गरेको छ। आयोजना सम्पन्न भएपछि देशको विद्युत् उत्पादन क्षमता वृद्धि हुनुका साथै ऊर्जा सुरक्षामा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्