निजी क्षेत्रले रेन्ट–सिकिङ प्रवृत्ति त्याग्नुपर्छ : योजना आयोग उपाध्यक्ष भट्ट
जेष्ठ, १९ काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै नीतिगत प्रभावमार्फत विशेष सुविधा खोज्ने (रेन्ट–सिकिङ) प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले निजी क्षेत्रले नीतिगत प्रभाव पारेर अनावश्यक सुविधा लिने प्रवृत्ति देखिने गरेको उल्लेख गर्दै अब त्यस्तो अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिए।
भट्टका अनुसार विगत तीन–चार दशकदेखि भएको उदारीकरण र नीतिगत सुधारमा निजी क्षेत्रको योगदान उल्लेखनीय छ। तर, निजी क्षेत्रबारे आलोचनात्मक दृष्टिले हेर्ने केही प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक रहेको उनले बताए।
उनले निजी क्षेत्रलाई उत्पादनशील लगानीतर्फ केन्द्रित हुन र सट्टेबाजी (स्पेकुलेसन) बाट टाढा रहन आग्रह गरे। साथै, अल्पकालीन लाभका लागि दीर्घकालीन क्षति हुने गतिविधिबाट राज्य र निजी क्षेत्र दुवै जोगिनुपर्नेमा उनले जोड दिए।
भट्टले सुशासनयुक्त कर्पोरेट संस्कार (गुड कर्पोरेट गभर्नेन्स) प्रवर्द्धन गर्न निजी क्षेत्रलाई आग्रह गर्दै सरकारले पनि सुशासनलाई बलियो बनाउनुपर्ने बताए। सरकारको “सुशासन र समृद्धि” लक्ष्यसँग निजी क्षेत्रको भूमिका परिपूरक रहेको उनको भनाइ थियो।
उनले प्रविधिको प्रयोग, दक्षता वृद्धि र समावेशी विकासमार्फत मुलुकलाई उच्च आर्थिक वृद्धिको दिशामा अघि बढाउन सकिने बताए।




प्रतिक्रिया दिनुहोस्