वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षमा दलहन आयातमा २२% गिरावट

जेष्ठ, १९ काठमाडौं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै करिब रु सात अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ। यो आयात विभिन्न सात प्रकारका दलहनमा भएको जानकारी भन्सार कार्यालयले दिएको छ।

गत वर्षको सोही अवधिसँग तुलना गर्दा चालु आवमा दलहन आयातमा मूल्यको आधारमा रु दुई अर्ब २४ करोड अर्थात् २२ प्रतिशतको गिरावट आएको छ। गत आवको १० महिनामा यहाँबाट रु १० अर्ब २१ करोड मूल्यका दलहन आयात गरिएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, चालु आवमा मुसुरो दालको आयात रु तीन अर्ब २० करोड भएको छ, जुन गत आवको रु चार अर्ब ५० करोडको आयातको तुलनामा कम हो।

त्यसैगरी, चालु आवमा सिमी/राजको आयात रु दुई अर्ब ४ करोड, चना आयात रु एक अर्ब ९२ करोड र अन्य गेडागुडी आयात रु ४२ करोड भएको छ। गत वर्षको सोही अवधिमा क्रमशः रु दुई अर्ब ७४ करोड, दुई अर्ब १७ करोड र रु ४५ करोड ८८ लाखको आयात भएको थियो।

सूचना अधिकारी विष्टले आयातमा कमीको कारणमा अन्तर्राष्ट्रिय बजार मूल्य र मागमा परेको प्रभाव प्रमुख कारक भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्