सफ्टवेरिका करियर फेयर २०२६ तथा होमकमिङ अलुम्नाई मिट सम्पन्न

जेष्ठ १८, काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सद्वारा आयोजित ‘सफ्टवेरिका करियर फेयर २०२६’ तथा ‘होमकमिङ अलुम्नाई मिट’ सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थी, पूर्वविद्यार्थी, रोजगारदाता, उद्योग क्षेत्रका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको कलेजले जनाएको छ। कलेजका अनुसार, यो कार्यक्रम हालसम्मकै सबैभन्दा ठूलो शैक्षिक तथा औद्योगिक जमघटमध्ये एक बनेको छ।

कार्यक्रमले कृत्रिम बुद्धिमत्ता (एआई), डेटा विश्लेषण तथा उद्योग–केन्द्रित प्रविधि शिक्षामा संस्थाले हासिल गरेको प्रगतिलाई थप उजागर गरेको बताइएको छ। करियर फेयरमा नेपालका प्रविधि तथा डिजिटल क्षेत्रका २० भन्दा बढी अग्रणी कम्पनीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ४०० भन्दा बढी सहभागी उपस्थित भएका थिए। सफ्टवेयर विकास, कृत्रिम बुद्धिमत्ता, प्रयोगकर्ता अनुभव (यूएक्स) डिजाइन, साइबर सुरक्षा, वित्तीय प्रविधि (फिनटेक), डेटा विज्ञान तथा डिजिटल नवप्रवर्तनका क्षेत्रमा ८० भन्दा बढी युवाले प्रत्यक्ष रोजगारी तथा करियर अवसर प्राप्त गरेका थिए।

करियर फेयरमार्फत विद्यार्थीहरूले रोजगारदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, सम्भावित करियर क्षेत्रबारे जानकारी प्राप्त गर्ने तथा उद्योगको व्यवहारिक अनुभव हासिल गर्ने अवसर पाएका थिए। सहभागी कम्पनीहरूले पनि दक्ष र प्रतिभाशाली जनशक्तिसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्न सफल भएको बताएका छन्।

यसैबीच, सफ्टवेरिकाले पहिलोपटक आयोजना गरेको ‘होमकमिङ अलुम्नाई मिट’मा विगत १६ वर्षमा स्नातक गरेका ४०० भन्दा बढी पूर्वविद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उनीहरूले आफ्नो व्यावसायिक अनुभव, अन्तर्राष्ट्रिय करियर यात्रा तथा उद्योग क्षेत्रका सिकाइहरू साझा गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै कलेजका अध्यक्ष विज्ञान श्रेष्ठ तथा क्याम्पस प्रमुख प्रमोद पौडेलले संस्थाको स्थापना, विकास यात्रा र आगामी योजनाबारे जानकारी गराएका थिए। उनीहरूले उद्योगसँग जोडिएको शिक्षामार्फत अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यलाई निरन्तरता दिइने बताएका थिए।

कार्यक्रममा नवनेक्सा टेकका संस्थापक तथा प्राविधिक प्रमुख धिरेन लामाले अन्तर्राष्ट्रिय प्रविधि क्षेत्रमा काम गरेको अनुभव साझा गर्दै विश्वव्यापी प्रतिस्पर्धामा सफल हुन निरन्तर सिकाइ, अनुकूलन क्षमता र प्राविधिक दक्षताको महत्त्वबारे चर्चा गरेका थिए। त्यस्तै, दियालो टेक्नोलोजिजकी प्रमुख प्रयोगकर्ता अनुभव डिजाइनर अस्तिका गुरुङले डिजिटल उत्पादन विकास तथा डिजाइन उद्योगमा आफ्नो अनुभव प्रस्तुत गर्दै सिर्जनशीलता र व्यवहारिक सिकाइमा जोड दिएकी थिइन्।

यस अवसरमा सफ्टवेरिकाले उद्योग र शिक्षाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन ‘इन्डस्ट्री एड्भाइजरी बोर्ड’को औपचारिक शुभारम्भ गरेको छ। बोर्डमा प्रविधि, डिजिटल बैंकिङ, वित्तीय प्रविधि तथा नवप्रवर्तन क्षेत्रका अनुभवी व्यक्तित्वहरू सहभागी रहेका छन्। उनीहरूले पाठ्यक्रम विकास, अनुसन्धान, रोजगारी अवसर तथा प्रविधि नवप्रवर्तनलाई उद्योगको वास्तविक आवश्यकतासँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बेलायतस्थित इन्स्टिच्युट अफ एनालिटिक्सकी ग्लोबल कमर्सियल डाइरेक्टर ओल्गा सारा विशेष अतिथिका रूपमा सहभागी भएकी थिइन्। उनको उपस्थितिले कार्यक्रमलाई अन्तर्राष्ट्रिय आयाम प्रदान गर्नुका साथै कृत्रिम बुद्धिमत्ता तथा डेटा विश्लेषण क्षेत्रमा सफ्टवेरिकाको बढ्दो विश्वव्यापी सहकार्यलाई समेत उजागर गरेको कलेजले जनाएको छ।

यस अवसरमा डिजी ग्रुप र इन्स्टिच्युट अफ एनालिटिक्सबीच औपचारिक साझेदारी सम्झौतामा हस्ताक्षर समेत गरिएको छ। सम्झौताअनुसार इन्स्टिच्युट अफ एनालिटिक्सबाट प्रमाणित पाठ्यक्रम तथा शैक्षिक स्रोतहरू सफ्टवेरिकाका विद्यार्थीहरूलाई उपलब्ध गराइनेछ। यसबाट अन्तर्राष्ट्रियस्तरको कृत्रिम बुद्धिमत्ता तथा डेटा विश्लेषणसम्बन्धी शिक्षा प्राप्त गर्ने अवसर विस्तार हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा गणित, कृत्रिम बुद्धिमत्ता तथा डेटा विज्ञानलाई व्यवहारिक र अन्तरक्रियात्मक ढंगले सिकाउने ‘म्याथ्सलिटिक्स’ तथा प्रम्प्ट इन्जिनियरिङ, एआई स्वचालन, सफ्टवेयर विकास, डेटा विश्लेषण र एआई नैतिकतासम्बन्धी अध्ययनका लागि ‘प्रम्प्ट इन्जिनियरिङ मास्टरी पोर्टल’ समेत सार्वजनिक गरिएको थियो।

सफ्टवेरिका कलेजले करियर फेयर, अलुम्नाई मिट, उद्योग सल्लाहकार बोर्डको शुभारम्भ तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट उद्योग–केन्द्रित प्रविधि शिक्षामा आफ्नो नेतृत्वदायी भूमिका थप सुदृढ बनाएको जनाएको छ। कलेजले यस्ता कार्यक्रमले नेपालको भावी प्रविधि जनशक्ति निर्माण तथा विश्वव्यापी डिजिटल अर्थतन्त्रका लागि दक्ष जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्