पुँजीगत लाभकर ‘अन्तिम’ भनिए पनि लगानीकर्ता आश्वस्त छैनन्, सेयर बजार २६ अंकले घट्यो
जेष्ठ १८,काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई ‘अन्तिम कर’ भएको स्पष्ट पारे पनि लगानीकर्ताहरू अझै विश्वस्त हुन नसक्दा सेयर बजारमा दबाब देखिएको छ।
बजेटपछि सोमबार खुलेको बजार परिसूचक २६.७२ अंकले घट्दै २७५५ विन्दुमा झरेको छ। कारोबार सुरु भएदेखि नै गिरावट देखिए पनि बीचमा केही सुधार आए पनि बजार अन्ततः पुनः ओरालो लागेको हो।
अर्थमन्त्रीले पटक–पटक पुँजीगत लाभकर अन्तिम कर हुने बताएका भए पनि कानुनी स्पष्टता नभएको भन्दै लगानीकर्तामा अन्योल कायम रहेको छ। कर विज्ञहरूका अनुसार बजेट भाषणमा गरिएको घोषणा मात्र पर्याप्त नहुने र आर्थिक ऐनमा स्पष्ट व्यवस्था हुनुपर्ने कारणले दुविधा बढेको हो।
आर्थिक विधेयकमा सेयर कारोबारबाट प्राप्त लाभमा कर कट्टीलाई अन्तिम मानिने व्यवस्था उल्लेख भए पनि आय विवरण पेश गर्नुपर्ने वा नपर्ने विषयमा स्पष्टता नहुँदा लगानीकर्तामा शंका कायम रहेको बताइएको छ।
एक कर विज्ञका अनुसार विवरण पेश गर्न नपर्ने व्यक्तिका लागि मात्र ‘अन्तिम कर’ लागू हुने हो कि भन्ने प्रश्नले बजारमा अन्योल सिर्जना गरेको छ। लगानीकर्ताहरूले भविष्यमा थप प्रशासनिक झन्झट आउन सक्ने आशंका व्यक्त गरेका छन्।
अर्थमन्त्री वाग्लेले भने सेयर बाहेक अन्य आय हुने व्यक्ति तथा व्यवसायीले आय विवरण बुझाउनुपर्ने भए पनि सेयर लाभकरलाई अन्तिम करकै रूपमा लागू हुने बताएका छन्।
यसैबीच, सेयर विश्लेषक विष्णु बस्यालले वर्तमान व्यवस्थाले व्याख्यात्मक समस्या सिर्जना गर्न सक्ने भन्दै वर्षभरिको नाफा–घाटाको समायोजनपछि मात्र कर निर्धारण हुने स्पष्ट व्यवस्था आवश्यक रहेको बताए।
सरकारले आगामी आर्थिक वर्षदेखि पुँजीगत लाभकर दर पनि वृद्धि गरेको छ। एक वर्षभन्दा कम अवधिको सेयर बिक्रीमा १० प्रतिशत र एक वर्षभन्दा बढी अवधिको लाभमा ७.५ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ। यसअघि यो दर ५ देखि ७.५ प्रतिशत थियो।
लगानीकर्ताको विश्वास कमजोर हुँदा सोमबार कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार घटेर ५ अर्ब ६१ करोड रुपैयाँमा सीमित भयो।
बजारमा ३५ कम्पनीको मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ, जसले समग्र बजारमा दबाब कायमै रहेको देखाएको छ।




प्रतिक्रिया दिनुहोस्