संसदमा वेलमै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच घम्साघम्सी
काठमाडौं, १७ जेष्ठ । प्रतिनिधिसभाको बैठक कक्षको वेलमै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच घम्साघम्सी भएको छ ।
प्रतिनिधिसभा नियमावलीमाथि दफावार छलफल सकेर सभा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने गर्दै गर्दा विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा नियमावलीलाई संसदीय समितिमा दफावार छलफलका लागि लगिनुपर्ने माग राखे ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेर माग राखिन् ।
तर, सभामुखले दफावार छलफल सदनमै गरियोस् भन्ने कार्यसूची तय भएको र त्यसअनुसार अगाडि आएको भनेर सदन अगाडि बढाए ।
प्रतिनिधिसभा नियमावलीको मस्यौदामा ३५ वटा संशोधन परेको छ । सभामुखले संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्न थालेपछि विपक्षी दलका सांसदहरू वेलमा पुगे । नाराबाजी गरे । सभामुखको भूमिका माथि प्रश्न उठाए ।
त्यसपछि सत्तापक्षकै सांसदहरू पनि वेलमा पुगेका हुन् । त्यसक्रममा संसद्को वेलमै सत्तापक्ष र विपक्षी सांसदहरूले एक अर्कोलाई औंला ठड्याएर चेतावनी दिए ।
विपक्षी दलका एक जना सांसद रोष्ट्रम नजिक नै पुगिन् । मर्यादापालकले रोके ।
वेलमा सत्तापक्ष र विपक्षी सांसदहरूलाई छेकेर मर्यादापालक बसेका थिए । तैपनि उनीहरू एक अर्कोलाई ठेलेर सभामुखको भूमिको समर्थन र विरोध गर्न थाले ।
त्यसक्रममा सभामुखले पटक–पटक सदनको मर्यादा कायम राख्न आग्रह गरे । अन्तिममा सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभा नियमावली आजै पास गर्ने सत्तारुढ दलको तयारी छ । यसले संसदमा निकै तनावपूर्ण बनेको थियो ।




प्रतिक्रिया दिनुहोस्