बजेटले अर्थतन्त्र चलायमान बनाउने विश्वास, सिबिफिनद्वारा स्वागत

जेष्ठ १७,काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसले आर्थिक पुनरुत्थान, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

आइतबार जारी विज्ञप्तिमार्फत सिबिफिनले पछिल्लो समय सुस्त बनेको आर्थिक गतिविधि, निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्ताको ‘पर्ख र हेर’ मनोवृत्ति, बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्था तथा बढ्दो खराब कर्जाको चुनौतीका बीच आएको बजेटले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने आशा जगाएको जनाएको हो।

परिसंघले कर प्रणालीमा सुधार, उद्योग–व्यवसायका लागि विभिन्न सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, पूर्वाधार तथा प्रविधि विकासमा जोड, ऊर्जा क्षेत्रको विस्तार तथा लगानीमैत्री वातावरण निर्माणका पहललाई सकारात्मक कदमका रूपमा मूल्यांकन गरेको छ।

सिबिफिनले विशेषगरी खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारी घोषणालाई ऐतिहासिक, दूरदर्शी र समयानुकूल निर्णयका रूपमा व्याख्या गरेको छ।

विज्ञप्तिमा बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गरिएको छ।

त्यस्तै, व्यक्तिगत आयकर छुटको सीमा वृद्धि, कर दरको पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालनका व्यवस्थाले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास परिसंघले व्यक्त गरेको छ।

सिबिफिनका अनुसार बजेटमा समेटिएका कार्यक्रमहरूले आन्तरिक तथा बाह्य लगानी विस्तार, उद्यमशीलताको विकास, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा निजी क्षेत्रको पुनर्जागरणमार्फत अर्थतन्त्रलाई उच्च आर्थिक आत्मविश्वासतर्फ अग्रसर गराउने आधार तयार गरेका छन्।

परिसंघले बजेटमा समावेश जनमुखी तथा विकासमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्थायित्व र निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको औंल्याएको छ।

साथै, आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार तथा दिगो आर्थिक वृद्धिका लागि सरकारसँग सहकार्य गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको सिबिफिनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्