गोँगबुदेखि सिनामंगलसम्म ५० सिटको ठूला बस चल्ने

काठमाडौं । साना यातायातमा सवारी चाप बढिरहेकेको अवस्थामा गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ ।

असार पहिलो हप्तादेखि सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत ठूलो १७ बस सञ्चालन गर्न लागेको हो ।

यस बस सञ्चालनबाट नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्मका यात्रुलाई आवतजावतमा सहज हुने विश्वास छ ।

सामाखुशी यातायात व्यवसायी समितिका अध्यक्ष सानुकाजी प्रजापतिले रु. सात करोड लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिए । “असार पहिलो हप्ता १० बस र त्यसपछि सात बस सञ्चालनमा ल्याउँछौँ,”–उनले भने ।

सामाखुशी भएर चल्ने माइक्रोबसलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेको समितिको भनाई छ ।
सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले रु. एक करोड ९० लाख अनुदान दिएको छ । सोही रुटमा ठूला बस सञ्चालन भएपछि गोँगबुबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल—रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन् ।

सरकारले पछिल्लो समय उपत्यकामा सवारीसाधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ । जस अन्तर्गत प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारीसाधन तथा टर्सरी रुटमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्