सरकारले आज आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्दै

जेठ १५, काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको छ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई अन्तिम स्वीकृति दिन आज दिउँसो २:३० बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ। मन्त्रिपरिषद्बाट पारित भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

संवैधानिक व्यवस्था अनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार आजको बजेट सार्वजनिक हुन लागेको हो।

यस वर्षको बजेटमा आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ। साथै घट्दो राजस्व, बढ्दो सार्वजनिक ऋण र आर्थिक सुस्तताबीच सरकारले ल्याउने नीति तथा कार्यक्रमलाई विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्