प्रधानसेनापति क्षेत्री औपचारिक भ्रमण पूरागरी स्वदेश फिर्ता

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री ६ दिने औपचारिक भारत भ्रमण पूरा स्वदेश फर्केका छन् ।

भारतीय सेनाका सेनाध्यक्ष जनरल बिपिन रावतको औपचारिक निमन्त्रणामा ६ दिने भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानसेनापति राजेन्द्र क्षत्री भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका हुन् । उनलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भ्रमणको क्रममा सेनापति क्षत्रीले भारतका रक्षामन्त्री, रक्षा सचिव, राष्ट्रिय सुरक्षा सल्लाहकार, जल सह सेनाध्यक्षसहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

साथै उहाँले नयाँ दिल्लीमा रहेको अमर जवान ज्योति शहीद स्मारक, देहरादुनमा रहेको खलंगा वीर गोर्खाली शहीद स्मारक र ओडिसा राज्यको आर्मी एयर डिफेन्समा रहेको शहीद स्मारकमा माल्यार्पण गरेका थिए । प्रधानसेनापति राजेन्द्र क्षत्री भारतीय सेनाका मानार्थ महारथी समेत हुन् ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र भारतीय सेनाबीच रहँदै आएको आपसी सम्बन्ध अझ सौहार्दपूर्ण हुनुको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रधानसेनापति क्षत्री देहरादुनस्थित भारतीय सेनाको इण्डियन मिलीटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको आतिथ्यताको लागि जेष्ठ २३ गते भारततर्फ प्रस्थान गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्