सहकारी बेथितिमा लेखा परीक्षक पनि दोषी : शर्मा आयोग

जेठ १४, काठमाडौं । पूर्वन्यायाधीश विनोदप्रसाद शर्मा को संयोजकत्वमा गठित सहकारी जाँचबुझ आयोगले सहकारी क्षेत्रमा भएको वित्तीय अनियमिततामा लेखा परीक्षकहरूको पनि भूमिका रहेको निष्कर्ष निकालेको छ।

आयोगका अनुसार केही लेखा परीक्षकहरू सहकारी सञ्चालकहरूको प्रभावमा परेर अनियमितता ढाकछोप गर्न सहयोगी बनेका छन्। प्रतिवेदनमा नियमित, गुणस्तरीय र प्रभावकारी लेखा परीक्षणको अभाव नै सहकारीभित्र वित्तीय अपचलन बढ्नुको मुख्य कारण भएको उल्लेख गरिएको छ।

आयोगले कानुनले अनिवार्य गरेको वार्षिक लेखा परीक्षण अधिकांश सहकारीमा केवल औपचारिकतामा सीमित रहेको औँल्याएको छ। समयमै लेखा परीक्षण नगराउने सहकारीमाथि कारबाही गर्न सकिने कानुनी व्यवस्था भए पनि सहकारी विभागले प्रभावकारी निगरानी र कारबाही नगरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले सहकारी क्षेत्रमा पारदर्शिता, नियमित अनुगमन र कडा नियमन आवश्यक रहेको सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्