भोलि सार्वजनिक हुँदै आर्थिक वर्ष २०८३/८४ को बजेट, निजी क्षेत्रलाई प्राथमिकता दिने संकेत

जेठ १४, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट भोलि  शुक्रबार सार्वजनिक गर्ने भएको छ। संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन संघीय संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुरूप सरकारले अपराह्न ४ः०० बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट पेश गर्न लागेको हो।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्य प्रस्तुत गर्ने जानकारी दिएका छन्। साथै उनले सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ः४५ बजेसम्म संसद् भवनमा उपस्थित भई आसन ग्रहण गरिसक्न निर्देशन समेत दिएका छन्।

यसपटकको बजेट आर्थिक सुधार, निजी क्षेत्रको मनोबल अभिवृद्धि तथा लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित हुने अपेक्षा गरिएको छ। सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउने नीति अघि सार्ने अनुमान गरिएको छ।

अर्थमन्त्री डा. वाग्लेले यसअघि संसद्मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आगामी बजेटलाई “आर्थिक सुधारको नयाँ चरण र रूपान्तरणकारी सुरुवात” का रूपमा अघि बढाइने बताएका थिए।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको छ। बजारमा देखिएको आर्थिक शिथिलता र निजी क्षेत्रको कमजोर मनोबललाई ध्यानमा राख्दै करका दरमा लचकता, सरकारी प्रक्रिया सरलीकरण तथा सार्वजनिक–निजी साझेदारीलाई विशेष प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्