समस्याग्रस्त सहकारीबाट असुलिएको ऋणकै रकम बचतकर्तालाई फिर्ता सरकार
जेठ १३, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम नै बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समितिले बुधबार विज्ञप्ति जारी गर्दै राज्यकोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने सार्वजनिक गुनासो तथा भ्रमप्रति ध्यानाकर्षण भएको जनाएको हो।
समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारी संस्थाका १० हजार रुपैयाँभन्दा कम बचत मागदाबी भएका साना बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गर्ने काम भइरहेको छ। हालसम्म ‘चक्रिय कोष’ स्थापना भई खाता सञ्चालन भने नभइसकेको समितिले जनाएको छ।
समितिले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीकै बचतकर्तालाई कानुनी व्यवस्था अनुसार फिर्ता गरिरहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “हालसम्म समितिमा चक्रिय कोष स्थापना भई खाता सञ्चालन नभएको, तथापि समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर सञ्चालन भइरहेको छ।”
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले स्वीकृत गरेको १०० कार्यसूचीअन्तर्गत बुँदा नम्बर ९९ कार्यान्वयन गर्न सरकारले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको पनि समितिले जनाएको छ।
समितिका अनुसार हाल कर्जा असुलीलाई प्राथमिकतामा राखेर काम भइरहेको छ र असुल भएको रकम सम्बन्धित सहकारीकै बचतकर्तालाई फिर्ता गरिँदै आएको छ।




प्रतिक्रिया दिनुहोस्