तीन वटाको स्पिड मिलेन भने देश बन्दैनः सभामुख अर्याल
काठमाडौं, ८ जेष्ठ । सभामुख डोलप्रसाद अर्यालले मुलुक बनाउनका निम्ति राज्यका अंगहरूको स्पिड मिल्नुपर्ने बताएका छन् । पूर्व सांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायीकी र गैर विधायीकी अभ्यास’ विषयक अन्तर संवादमा कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन् ।
‘कानुन निर्माणमा सरकारलाई घचघच्याउने न्यायालय होला, कार्यपालिका होला, व्यवस्थापिका होला । त्यस कारणले यो एउटा सरकार हो’, उनले भने, ‘यो तीन वटाको स्पिड मिलेन भने देश बन्दैन ।’ यसबारे उनले थप व्याख्या गरेनन् ।
काम आउँदा स्रोत साधन र कानुनी प्रबन्ध देखाउने गलत प्रवृत्ति रहेको भन्दै असल नियत भए ती समस्या गौण हुने बताए । ‘सबैभन्दा पहिला नियतको कुरा गरौं । यदि नियत सफा भयो भने स्रोतहरू पाइन्छ’, उनले भने ।
काम गर्दा पूर्वजका अनुभव सुनेर अगाडि बढ्नुपर्ने उनले बताए । ‘जीवनमा सिकेर सकिँदैन जति पनि सिकिरहन सकिन्छ सिक्नु राम्रै कुरा हो र यसबाट घाटा पनि हुँदैन,’ उनले भने ।
देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन अग्रज पुस्ताले खेलेको भूमिका असाधारण रहेको बताउँदै उनले त्यसलाई भुल्न नहुने बताए । अग्रज तथा विज्ञ अनुभव, अथक संघर्षबाट धेरै विषय सिक्न सकिने उनको भनाइ छ ।
अहिले संसद्को जिम्मेवारीमा केही असान्दर्भिक भएका पुराना कानुन खारेज तथा संशोधनको आवश्यकता रहेको उनले औंल्याए । त्यसका केही उदाहरण पनि दिए ।
त्यसै उदाहरणमा १८ वर्षमा दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स दिने र २१ वर्षमा चार पाङ्ग्रेको लाइसेन्स दिने व्यवस्था रहेको उनको बताए ।
‘दुई पाङ्ग्रे भनेको अत्यन्तै असुरक्षित सवारी साधनको रूपमा हामीले हेर्छौं । चार पाङ्ग्रे त्यो भन्दा सुरक्षित हुन्छ,’ उनले भने, ‘तर, कानुन यस्तो छ पहिला तिमी असुरक्षित सवारी साधन चलाऊ, त्यसपछि मात्र सुरक्षित सवारी साधन भन्ने खाले छ ।’
अर्को उदाहरण उनले विवाहसम्बन्धी कानुनमा पनि रहेको बताए । देशका विभिन्न ठाउँमा १६ वर्षमा विवाह भइरहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो कानुनले २० वर्षपछि विवाह गर्नुपर्छ भनेको छ, त्यो सही छ कि गलत म त्यो बहसमा छैन । तर, कानुन निर्माण गर्ने बेलामा हाम्रो विधेयकको ड्राफ्ट कहाँ हुन्छ रु’
कानुनका प्रयोगकर्तालाई थाहा नदिएर कानुन बनाउँदा यस्तो समस्या आइरहेको उनले समीक्षा सुनाए । ‘हामी कानुन बनाइदिन्छौं र तिमी प्रयोग गर भनेर लगेर लाद्ने कोसिस गर्छौं’, उनले अगाडि भने, ‘जसले गर्दा जनताले प्रयोगकर्ताले आफूले प्रयोग गर्ने कानुन थाहा पाउँदैन र उ जबरजस्ती त्यो कानुन पालना गर्नलाई बाध्य हुन्छ ।’
देशलाई सुहाउँदो, देशमा बसोबास गर्ने नागरिकलाई सुहाउँदो कानुन निर्माणमा सबैको संवाद र सहकार्य हुनेछ भन्ने आफ्नो अपेक्षा रहेको पनि सुनाए ।




प्रतिक्रिया दिनुहोस्