अत्यधिक गर्मीले धानखेतमै एकजनाको मृत्यु, दुई बेहोस
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८, बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् ।
मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताए ।
त्यसैगरी, ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया किसुनदेवी सदा मुसहर पनि अत्यधिक गर्मीमा धान रोप्दारोप्दै धानखेतमै बेहोस भएको प्रहरी निरीक्षक भट्टले बताए ।
बेहोस दुवैजनाको प्राथमिक उपचार केन्द्र गौशालामा उपचार भइरहेको छ भने उनीहरुको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा। मनोज दासले बताए ।
आइतबार बिहानै चर्को घाम लागेकै बेला गाउँकै उमेश महतोको खेतमा पाँचजना महिलाको समूहमा धान रोप्न गएको बेला धान रोप्दारोप्दै सिकिलदेवी सदा मुसहर बेहोस भएकी थिइन् ।
सँगै धान रोप्दै गरेकी सासू सुनरदेवी सदा मुसहर र साथीहरुले उनलाई खेतको आलीमा राखेको र गाउँमा खबर पुर्याएर उनलाई उपचारका लागि लैजान खोज्दा उनको खेतनजिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही ठाउँमा मृतककी सासू सुनरदेवी सदा मुसहर र छिमेकी किसुनदेवी सदा मुसहर पनि बेहोस भएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्