विश्वकर्मालाई उत्कृष्ट पत्रकारिता अवार्ड, २०२६

काठमाडौं । पत्रकार मेघबहादुर विश्वकर्मा (मेघेन्द्र) लाई ग्लोबल स्टार अवार्ड, २०२६ (उत्कृष्ट पत्रकार) प्रदान गरिएको छ ।
नेपालको राजधानी काठमाडौंमा मे १४, २०२६ मा वरिष्ठ कलाकारद्वय नीर शाहको प्रमुख आतिथ्यता र मदन कृष्ण श्रेष्ठको विशिष्ठ आतिथ्यतामा दक्ष इन्टरनेशनलद्वारा होटल मक्र्युरमा आयोजित एक भव्य समारोहमा विश्वकर्मालाई पत्रकारीतामा विशेष योगदान गरेवापत सो अवार्ड प्रदान गरिएको हो ।

सन् २०१० देखि सीमान्त आवाज राष्ट्रिय मासिक पत्रिकाबाट पत्रकारितामा प्रवेश गर्नु भएका विश्वकर्मा लामो समयदेखि सो पेशामा संलग्न हुनुहुन्छ । उहाँ हाल जागरण न्यूज डट कम्को प्रधानसम्पादक, अर्थविशेष मासिकको प्रधानसम्पादक, मिलापको सन्देशको अतिथि सम्पादक र एकेडेमिक डिस्कोर्श पियर रिभियु जर्नलको सह–सम्पादक हुनुहुन्छ । त्यसैगरी, नेपालको लागि वेलायतका पूर्वराजदुत डा दुवसु क्षेत्रीको नेतृत्वमा गठित नेपाल–बेलायत लेखक संघको कार्यकारिणी सदस्य समेत हुनुहुन्छ ।

पत्रकार बाहेक उहाँ अनुसन्धाता, दलित अध्येता र लेखक पनि हुनुहुन्छ । विश्वकर्माले नेपाली र समाजशास्त्रमा त्रिचन्द्र वहुमूखी क्याम्पस, जमलबाट एम.ए.उत्तिर्ण गर्नुभएको छ । त्यसैगरी उहाँले त्रिभूवन विश्वविद्यालय, केन्द्रिय समाजशास्त्र विभाग किर्तिपुरबाट समाजशास्त्रमा एम.फिल (दर्शनाचार्य) सम्मको अध्ययन गर्नुभएको छ । २०६० को दशकको मध्येदेखि जनधारणा साप्ताहिकबाट जातीय विभेद विरुद्ध लेखन यात्रा सुरुआत गर्नुभएका विश्वकर्माका सामाजिक न्याय, जातीय विभेद तथा छुवाछुतको अन्त्य, दलित अधिकार र समसामयिक अर्थ–राजनीतिक विषयहरुमा ८० भन्दा बढि लेखहरु राष्ट्रिय दैनिकहरु कान्तिपुर, अन्नपुर्ण पोष्ट, नागरिक दैनिक, राजधानी, नयाँ पत्रिका, गोरखापत्र, अनलाईन खबर लगाएतका दैनिक, साप्ताहिक एवं मासिक पत्रिकाहरुमा प्रकाशित छन् ।

त्यसैगरी, उहाँका ५ भन्दाबढि अनुसन्धानमूलक लेखहरु अंग्रेजी र नेपाली जर्नलहरुमा छापिएका छन् भने उहाँले ५ भन्दा बढि पुस्तकहरुको सम्पादन गर्नुभएको छ । त्यसैगरी अर्थ मन्त्रालय, भूमिसुधार मन्त्रालय र प्रेस काउन्सिल नेपाल लगाएत विभिन्न राष्ट्रिय एवं स्थानीय मञ्चहरुमा समेत गरी साँढे २ दर्जनभन्दा बढि सामाजिक न्याय र दलित अधिकारसँग सम्बन्धित कार्यपत्रहरु प्रस्तुत गर्नुभएको छ । उहाँको पुस्ताकार रुपमा भने छिट्टै नेपाली र अंग्रेजी भाषाका २ वटा पुस्तकहरु प्रकासनको अन्तिम तयारीमा छन् ।

उहाँकै पहलमा वि.सं.२०६८ सालमा स्थापित दलित अधिकार तथा विकास केन्द्र नेपाल नामक गैर सरकारी संस्थाले उहाँकै नेतृत्वमा दलित अधिकारको प्रबन्ध, कार्यान्वयन, दलितमैत्री नीति, कार्यक्रम र बजेटको व्यवस्थापनका सन्दर्भमा नेपाल सरकारका विभिन्न मन्त्रालयहरुसँगको संयुक्त आयोजनामा कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

विश्वकर्माको नेतृत्वमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन, अर्थ, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रेस काउन्सिल नेपाल लगाएतका सरकारी निकायहरुसँगको संयुक्त आयोजनामा महत्वपूर्ण बहसहरु सञ्चालन गरिएका छन् ।

त्यसैगरी, २ दर्जनभन्दा बढि स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश सरकारका निकायहरुसँगको सहकार्यमा दलित अधिकार, सामाजिक न्याय र सीमान्तकृत समुदायको सशक्तिकरणका सन्दर्भमा थुप्रै कार्यक्रमहरु संचालन गरिएका छन् । दलित अध्येता विश्वकर्माको नेतृत्वमा विभिन्न स्थानीय तहहरुमा दलित सशक्तिकरण ऐन निर्माण गरिएका छन् ।

राष्ट्रिय दलित आयोगको पूर्वविज्ञ सल्लाहाकार समेत हुनुभएका विश्वकर्मा विभिन्न सामाजिक संघसंस्थाहरुमा संलग्न हुनुहुन्छ । उहाँले नेपाल टेलिभिजन, रेडियो नेपाल र कान्तिपुर एफएम लगाएतका चर्चित मिडियाहरुमा दलित अधिकारका विषयमा अन्तर्वार्ता दिनुभएको छ ।
नेपालका ख्याति प्राप्त दलित अध्येता, लेखक, पत्रकार एवं अधिकारकर्मी विश्वकर्मा स्व.पिता पूर्णबहादुर विश्वकर्मा र स्व.माता तीलमाया विश्वकर्माका २ छोरी र २ छोरामध्ये कान्छो सन्तान हुनुहुन्छ । ओखलढुंगा जिल्ला लिखु गाउँपालिका वडा नं.४ साविक यसम गाविसमा वि.सं.२०३९ सालमा जन्मनु भएका विश्वकर्माले सानैदेखि क्रान्तिकारी विचार र परिवर्तनकारी सोंच बोक्दै आउनुभयो ।

आर्थिक हिसाबले निम्न मध्यम परिवारमा जन्मनु भएका विश्वकर्मा जातप्रधान सामाजिक संरचनाका कारण सानैदेखि समाज र विद्यालयमा समेत जातीय विभेद र सामाजिक उत्पीडनबाट मनोवैज्ञानिक रुपमा नराम्ररी प्रताडित र प्रभावित हुनुभयो । परिवारको पूर्ण सहयोग भएपनि संघर्षका बीच विं.सं.२०५८ सालमा विद्यालय तहको शिक्षा पूरा गरेसँगै उच्च शिक्षा अध्ययनको सिलसिलामा उहाँ काठमाडौं प्रवेश गर्नुभएको थियो । अन्र्तजातीय विवाह गर्नुभएका विश्वकर्माका एक छोरा र एक छोरी हुनुहुन्छ ।

अन्त्यमा, विश्वकर्मा भन्नुहुन्छ–दलित अधिकार, सामाजिक न्याय र समतामूलक समाजको स्थापनाको निम्ति प्राज्ञिक लेखन, पत्रकारिता, संस्थागत संलग्नता र ओझेलमै रहेर पनि अहोरात्र गरेको विशिष्ट कर्मको मुल्यांकन गरी दक्ष ईन्टरनेशनलद्धारा आयोजित ग्लोवल स्टार अवार्डको दोस्रो संस्करणमा मलाई अवार्ड प्रदान गर्नुहुने आयोजकप्रति हार्दिक आभार प्रकट गर्दछु । यो प्राप्त ऐतिहासिक अवार्ड म मेरो स्व.मातापिताजीप्रति समर्पित गर्न चाहन्छु ।

त्यससँगै, नेपालको दलित आन्दोलनमा साहदत प्राप्त गर्ने दर्जनौं योद्धाहरु, लोकतन्त्र स्थापनायताको २ दशकको अवधिमा जातीय विभेदको नाममा हत्या गरिएका ५ दर्जनभन्दा बढि दलितहरु र भोक, रोग, गरिवी, अशिक्षा, अभाव, दरिद्रता, भूमिहीनता, बहुआयामिक विभेद, शोषण, दमन र उत्पीडनको चक्रव्युहभित्र रहेर दोस्रो दर्जाको नागरिकको रुपमा बाँच्न अभिसप्त आम लाखौं दलित समुदायको मुक्तिको खातिर यो महत्वपूर्ण अवार्ड मानव बन्न नसकिरहेका उनै दलितहरुप्रति समर्पित गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्