ब्याजदर कायम गर्ने अधिकार बैङ्कहरुलाई
काठमाडौं । वर्तमान आर्थिक स्थिति र बजार अवस्थालाई दृष्टिगत गरी नेपाल बैङ्कर्स एशोसिएशनले ब्याजदर कायम गर्ने अधिकार बैङ्कहरुलाई दिएको छ ।
पाँच महीनाअघि बैङ्कहरु बीच ब्याज बढाबढ नगर्ने सम्बन्धमा भएको भद्र सहमतिलाई विश्राम दिने गरी नेपाल बैङ्कर्स एशोसिएशनले ब्याजदर कायम गर्ने अधिकार बैङ्कलाई नै दिएको हो । एनआईसी एसिया बैङ्कले ब्याजदर बढाइ निक्षेप सङ्कलन गरेपछि २८ ओटा बाणिज्य बैङ्कहरुको छाता सङ्गठन नेपाल बैङ्कर्स सङ्घले निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा बढी नदिने सहमति गरेका थिए ।
नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘ब्याजदर बैङ्कर्स एशोसिएशनले नभइ बैङ्कले स्वतन्त्र रुपमा कायम गर्ने हो ।’ ‘विगत १–२ महीनाको तुलनामा बजार सुधार भएकाले बजारको अवस्था हेरेर नयाँ ब्याजदर कायम गर्न सक्ने भनी सदस्य बैङ्कहरुलाई जानकारी दिइएको हो’, कार्यकारी निर्देशक अनिल शर्माले भने ।
उनका अनुसार हरेक वर्षझैँ असारमा विकास खर्च बढी हुने र सिस्टममा पनि बढी पैसा आउनेछ । ‘यसैले अहिले बजारमा तरलता बढ्छ जसका कारण ब्याजदर घट्छ भन्ने हाम्रो अनुमान छ ।’ उनले भने, ‘यो समयमा कर्जाको माग पनि कमै मात्र आउने गर्छ । त्यसैले निक्षेपमा ब्याजदर घट्नुपर्छ भने मेरो व्यक्तिगत धारणा छ ।’
बजारले ब्याजदर कायम गर्ने र बैङ्कहरुमा तरलता स्थिर रह्यो भने ब्याजदर पनि स्थिर रहने उनको ठम्याइ छ । उनले भने, ‘अहिले कुनै बैङ्कमा लिक्विडिटी क्रन्च छ भने उसले २ प्रतिशतसम्म ब्याजदर बढाउला, लिक्विडिटी हाइ छ भने २ प्रतिशत घटाउला ।’ नेपाल राष्ट्र बैङ्कको निर्देशनमा ३–३ महीनाको अन्तरालमा २ प्रतिशतभन्दा घटबढ हुने गरी ब्याजदर परिवर्तन गर्न नपाउने उल्लेख छ ।
अहिले मुद्दति निक्षेपमा ११ प्रतिशतसम्म ब्याजदर कायम रहेकाले संस्थागत निक्षेपकर्ताको ब्याज १३ प्रतिशतसम्म पुग्नेछ । कर्जा फाइल पेन्डिङ्ग रहेका बैङ्कहरुले माग अनुरुप कर्जा वितरण गरे १३ प्रतिशत पुग्ने र अहिले खासै नयाँ कर्जामा माग नआएको हुनाले स्थिर नै रहने अनुमान बैङ्करहरुको छ ।















प्रतिक्रिया दिनुहोस्