स्रोतमै फोहर वर्गीकरण गर्ने कार्यले बञ्चरेडाँडा लैजाने फोहरमा कमी
काठमाडौं, २६ बैशाख । काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहर वर्गीकरण गर्ने कार्य प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याएपछि अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा लैजाने फोहरको मात्रा घटेको छ ।
कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु लम्ब्याउने उद्देश्यले स्रोतमा फोहर वर्गीकरण तथा व्यवस्थापनको कार्य सुरु गरिएको हो ।
उनले हाल महानगरबाट दैनिक १५ ट्रक फोहर बञ्चरेडाँडा पठाइने गरिएको जानकारी दिए । यसअघि वर्गीकरणबिना सबै फोहर लैजाँदा दैनिक २० ट्रक फोहर अन्तिम व्यवस्थापनस्थल पुग्ने गरेको थियो ।
प्रमुख राईले फोहर वर्गीकरणमार्फत् सहरी सरसफाइ सेवालाई प्रभावकारी बनाउँदै आयआर्जन हुने क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको बताए ।
घरेलु फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन महानगरले ३२ वटै वडालाई सात क्षेत्रमा विभाजन गरेको छ ।
प्रत्येक क्षेत्रमा एकरएक वटा फोहरमैला स्थानान्तरण केन्द्र स्थापना गरी सुक्खा फोहर व्यवस्थापनका लागि ‘मेटेरियल रिकभरी’ सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ ।
आय ठेक्का कार्यविधि, २०७९ अनुसार क्षेत्र नम्बर १ मा वडा नम्बर २, ३, ४, ५ र ७ समेटिएका छन्। क्षेत्र नम्बर २ मा वडा नम्बर १, ११, २८, २९ र ३० तथा क्षेत्र नम्बर ३ मा वडा नम्बर ६, ८ र ९ रहेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर ४ मा वडा नम्बर १६, १७ र २६ तथा क्षेत्र नम्बर ५ मा वडा नम्बर १३, १४ र १५ तोकिएका छन् । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ निर्धारण गरिएको छ भने बाँकी वडालाई क्षेत्र नम्बर ७ मा राखिएको विभागले जनाएको छ ।
महानगरका अनुसार स्रोतमै फोहर वर्गीकरण गरेर मात्रा न्यूनीकरण, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग तथा विसर्जन कार्यलाई क्षेत्रगत आधारमा व्यवस्थित गर्न फोहरमैला सङ्कलन तथा ढुवानीसम्बन्धी कार्यविधि, २०८१ जारी गरी कार्यान्वयनमा ल्याइएको छ ।
सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रबाट सेवा खरिद तथा आय ठेक्का प्रक्रियामार्फत समुदायस्तरमा फोहर सङ्कलन र ढुवानी व्यवस्थापन गर्ने व्यवस्था गरिएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्