बीजेपीका नेता तथा वर्तमान प्रतिपक्ष नेता शुवेन्दुअधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या

काठमाडौं, २४ बैशाख । पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) का नेता तथा वर्तमान प्रतिपक्ष नेता शुवेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको बुधबार राति गोली हानी हत्या गरिएको छ ।

बीबीसीका अनुसार यो घटना राजधानी कोलकाता नजिकैको मध्यमग्राममा भएको हो ।

एजेन्सीहरूले सार्वजनिक गरेका भिडियोहरूमा चन्द्रनाथ रथलाई अस्पताल लगिँदै गरेको देखाइएको छ । उनी सवार गाडीमा विधानसभा पासको स्टिकर पनि टाँसिएको थियो ।

बीजेपीले चन्द्रनाथ रथको हत्यालाई ‘सुनियोजित’ भनेको छ। तृणमूल कांग्रेसले घटनाको निन्दा गर्दै अनुसन्धानको माग गरेको छ । प्रहरीले भने घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

हालै सम्पन्न चुनावमा शुभेन्दु अधिकारीले भवानीपुर बाट टीएमसी नेतृ तथा निवर्तमान मुख्यमन्त्री ममता बनर्जीलाई करिब १५ हजार मतान्तरले पराजित गरेका थिए ।

पश्चिम बंगालको चुनाव परिणामपछि हिंसात्मक घटना हुन सक्ने आशंका व्यक्त गरिएको थियो । राज्यमा तोडफोड र हिंसाका धेरै घटनाहरू सार्वजनिक भएपछि बीजेपीले विज्ञप्ति जारी गर्दै टीएमसीका मानिसहरूले आफ्नो पहिचान परिवर्तन गरेर यस्ता गतिविधि गरिरहेको आरोप लगाएको थियो र यस्ता घटनालाई सहन नसकिने बताएको थियो ।

टीएमसी र बीजेपीले के भने ?

राज्यका डीजीपी सिद्ध नाथ गुप्ताले समाचार एजेन्सीसँग भने, ‘घटनाको अनुसन्धान सुरु गरिएको छ । यो अपराधमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ, तर गाडीको नम्बर प्लेट नक्कली रहेको पाइएको छ । घटनास्थलबाट जीवित कारतुस पनि फेला परेको छ। प्रत्यक्षदर्शीको बयान र हालसम्म प्राप्त प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको छ ।’

यता शुवेन्दु अधिकारीले घटनाबारे प्रतिक्रिया दिँदै भने, ‘यो योजनाबद्ध हत्या थियो। डीजीपीले पनि त्यही बताएका छन्। २–३ दिनअघि नै रेकी गरिएको थियो।’

उनले यो टीएमसीको १५ वर्षे ‘महाजंगलराज’को परिणाम भएको आरोप लगाए ।

उनले भने, ‘हामी सबै शोकमा छौँ । आफ्नो दुःख व्यक्त गर्न हामीसँग शब्द छैनन् । हाम्रो केन्द्रीय नेतृत्वले घटनाबारे जानकारी लिएको छ । क्याबिनेट मन्त्री सुकान्त मजूमदारले चन्द्रनाथ रथको परिवार र प्रहरीसँग कुरा गरेका छन् । यो विषयमा सम्पूर्ण पार्टी एकजुट छ ।’

अर्कोतर्फ टीएमसीले पनि यस सम्पूर्ण घटनाक्रममा कडा कारबाहीको माग गरेको छ ।

पार्टीले विज्ञप्तिमा भनेको छ, ‘दोषीहरूको पहिचान गरी उनीहरूलाई कुनै ढिलाइ बिना कानुनी कठघरामा ल्याउन अदालतको निगरानीमा सीबीआई अनुसन्धानसमेत गरिनुपर्छ भन्ने हाम्रो माग छ । लोकतन्त्रमा हिंसा र राजनीतिक हत्याको कुनै स्थान छैन, र दोषीहरूलाई यथाशीघ्र जवाफदेही बनाइनुपर्छ ।’

को थिए चन्द्रनाथ ?

समाचार एजेन्सी पीटीआईका अनुसार ४१ वर्षीय चन्द्रनाथ रथ मूलतः चाँदीपुर निवासी थिए। उनी शुवेन्दु अधिकारीका अत्यन्त निकटस्थ मानिन्थे र राज्य राजनीतिमा अधिकारीको उदयमा उनको पनि महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।

वर्षौँसम्म अधिकारीको आन्तरिक समूहमा रहे पनि उनी प्रायः पर्दापछाडि नै सक्रिय रहे ।

सक्रिय राजनीतिक तथा संगठनात्मक भूमिकामा आउनुअघि रथले रामकृष्ण मिशनबाट अध्ययन पूरा गरेका थिए । त्यसपछि उनले करिब दुई दशक भारतीय वायु सेनामा सेवा गरेका थिए ।

परिवारनिकट व्यक्तिहरूका अनुसार विद्यार्थी जीवनमै उनी रामकृष्ण मिशनको विचारधाराबाट गहिरो रूपमा प्रभावित भएका थिए ।

वायु सेनाबाट स्वेच्छिक अवकाश लिएपछि उनले केही समय कर्पोरेट क्षेत्रमा काम गरे । त्यसपछि उनी बिस्तारै राजनीतिक समन्वय र प्रशासनिक जिम्मेवारीतर्फ सक्रिय बने ।

शुभेन्दु अधिकारीको परिवारझैँ रथको परिवार पनि पहिले तृणमूल कांग्रेससँग आबद्ध थियो ।

परिवारका परिचितहरूका अनुसार रथ परिवार र अधिकारीबीचको सम्बन्ध दुई दशकभन्दा पुरानो थियो, जुन पूर्व मेदिनीपुरमा टीएमसी विस्तारको प्रारम्भिक चरणदेखि नै सुरु भएको थियो ।

उनी धेरै चर्चित राजनीतिक संघर्षहरूमा बीजेपीको कोर टिम सदस्यका रूपमा पनि सक्रिय थिए, जसमा बीजेपीको भवानीपुर अभियान पनि समावेश थियो ।

बीजेपी संगठनभित्रका केही समूहहरूमा विधानसभा चुनावपछि यदि शुभेन्दु अधिकारीले सरकारमा ठूलो भूमिका पाए भने रथलाई पनि महत्वपूर्ण प्रशासनिक जिम्मेवारी दिइन सक्ने अड्कलबाजीसमेत गरिएको थियो ।

उनको हत्यापछि राज्यमा फेरि तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्