बल्खुस्थित सुकुमवासीको बागमती नदीमा बग्दै गरेको अवस्थामा शव भेटिए, भनेका थिए ‘घर भत्किएको हेर्न सक्दिनँ’

काठमाडौं, १८ बैशाख। आज खाली गरिएको बल्खुस्थित सुकुमवासी बस्ती नजिकैको बागमती नदीमा फेला परेको शव नदीमा बग्दै गरेको अवस्थामा भटिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको प्रेस नोटअनुसार दिउँसो साढे ३ बजे बागमती नदीमा बग्दै गरेको अवस्थामा एक पुरुषको शव भेटिएको हो ।

नदीमा मृत भेटिएका व्यक्ति खोटाङको सरल गाउँपालिका–५ घर भइ बल्खुस्थित सुकुमवासी बस्तीमा बस्दै आएका ६१ वर्षीय ईन्द्रबहादुर राईको रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

घटनास्थल मुचुल्का तथा लास जाँच मुचुल्का गरेर शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । मृत्युको कारण भने अहिलेसम्म नखुलेको र अनुसन्धानको काम भइरहेको प्रहरीले बताएको छ ।

परिवारका अनुसार उनी शुक्रबार बिहान मात्रै घर भत्काको हेर्न सक्दिैन भन्दै निस्किएका थिए । बिहान त्यसो भनेर निस्केका उनी दिउँसो मृत भेटिएको श्रीमती सरिता राईले बताएकी छिन् ।

यसबारे प्रहरीले भने बुझ्ने काम भइरहेको बताएको छ । एसपी भट्टराईका अनुसार इन्द्रबहादुरको परिवार पनि बल्खुको सुकुमवासी बस्तीमा बस्थ्यो ।

तर इन्द्रबहादुुर प्रहरीको सर्म्पकमा नहुने, कहिले कता बस्ने कहिले बस्ने गरेको बताउँछन् । ‘परिवार बल्खुको सुकुमवासी बस्तीमा बस्ने रहेछ । उहाँ ९इन्द्रबहादुर० भने परिवारको सम्पर्कमा नहुने भन्ने बुझिएको छ । उहाँ बस्ने ठाउँको पनि ठेगान नरहेको भन्ने सुनेका छौं । बाँकी विस्तृत बुझ्ने काम हुँदैछ,’ एसपी भट्टराईले भने ।

यता श्रीमती सरिताले भने बिहान मात्रै घरबाट निस्केको बताएकी छिन् । ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको थियो,’ सरिताले भनिन्, ‘अहिले यस्तो अवस्थामा भेटिनुभयो ।’

पत्नी सरिता र उनका छोरा अहिले घटनास्थलमै छन् । स्थानीयबासीका अनुसार ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा लामो समयदेखि बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्