आईसीसी विश्वकप क्रिकेट लिग–२: यूएईमाथि नेपालले संघर्षपूर्ण जित

काठमाडौं, १८ बैशाख। यूएईमाथि नेपालले संघर्षपूर्ण जित निकालेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु सिरिजमा नेपालले यूएईमाथि ६ रनको संघर्षपूर्ण जित निकालेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८ विकेट गुमाएर २४८ रन मात्र बनाउन सक्यो ।

यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ६५ रन बनाएपछि जितका लागि पर्याप्त हुन सकेन । शाहदादले हर्पित सिंहसँग तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । सिंहले ४१ रन बनाए । आर्यशं शर्मा ३३, अदीब उसमानी १४, मोहम्मद जुहैब १ र कप्तान मोहम्मद वासिम ० रनमा आउट भए । खैजइमा विन तन्विरले २६ बलमा ४९ रन बनाउँदा अक्षदीप नाथ ३२ बलमा २६ रनमा अविजित रहे ।

बलिङमा नेपालका सन्दीप लाछिमानेले ३, सोमपाल कामी र नन्दन यादवले दुईदुई तथा नन्दन यादवले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गमाुएर २८९ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे ।

दीपेन्द्रले ९४ बलमा सय रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे । करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए । उनले ७९ रनमा ५६ रनको योगदान दिए ।

गुल्सन झा ४४, ओपनर अर्जुन कुमाल ११, कप्तान रोहित पौडेल ३९, भीम सार्की ०, आरिफ शेख ११ रनमा आउट भए । सोमपाल कार्मी ० रनमा अविजित रहे ।

बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ तथा हैदर अली र खैजइमा विन तन्विरले एकएक विकेट लिए । अब नेपालले आफ्नो चौथो खेलमा मंगलबार ओमानसँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्