सरकारद्वारा दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस
काठमाडौं, १५ बैशाख । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।
‘मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस भएर आएको छ । यहाँ अध्ययन हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अनलाइनखबरसँग भने । अध्यादेशहरू आजै राष्ट्रपति कार्यालय शितलनिवास पुर्याइएको हो ।
यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए ।
तर, सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए ।
प्रतिनिधिसभा आह्वान गरेर पनि स्थगित गरेर सरकारले संवैधानिक परिषद्मा नियुक्तिका लागि सरकारले अध्यादेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो । संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्मा ६ जना सदस्य हुने व्यवस्था छ ।
प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायधीश, विपक्षी दलका नेता रहन्छन् । हिजो सोमबारमात्रै कांग्रेसले प्रतिनिधिसभामा दलको नेता चयन गरेको छ । कांग्रेसले दलको नेतामा भीष्मराज आङ्देम्बेलाई चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ ।











प्रतिक्रिया दिनुहोस्