इसराइल र लेबननबीचको युद्धविराम थप तीन साता लम्ब्याउने सहमति भएको राष्ट्रपति ट्रम्पको घोषणा
काठमाडौं, ११ बैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइल र लेबननबीचको युद्धविराम थप तीन साता लम्ब्याउने सहमति भएको घोषणा गरेका छन्।
ओभल अफिसमा बिहीबार उच्चस्तरीय छलफलपछि ट्रम्पले युद्धविराम लम्ब्याउने सहमति भएको घोषणा गरेका हुन्।
ट्रम्पले बिहीबार अमेरिकास्थित इसराइली राजदूत येखिएल लेइटर र लेबननी राजदूत नादा मोआवादसँग दोस्रो चरणको वार्ता गरेका थिए।
वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत बैठक सकारात्मक रहेको बताउँदै अमेरिका लेबननलाई हिजबुल्लाहबाट जोगाउन सहयोग गर्ने उल्लेख गरेका छन्। उक्त वार्तामा हिजबुल्लाह प्रतिनिधि भने सहभागी थिएन।
ट्रम्पले छिट्टै इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबननी राष्ट्रपति जोसेफ औनलाई भेटघाटका लागि आमन्त्रण गर्ने योजना रहेको पनि बताएका छन्। उनले तीन हप्ताको युद्धविराम अवधिभित्रै दुवै देशका शीर्ष नेताबीच भेटघाट हुने अपेक्षा व्यक्त गर्दै यसै वर्ष शान्ति सम्झौताको उच्च सम्भावना रहेको बताए।
बैठकमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियोलगायत उच्च अधिकारी सहभागी थिए। गत साता वासिङ्टनमा दुवै देशका राजदूतबीच भएको छलफलपछि बनेको युद्धविराम आइतबार सकिन लागेको थियो, जसलाई अब तीन हप्ता थप गरिएको हो।
यद्यपि युद्धविरामपछि हिंसामा कमी आए पनि दक्षिणी लेबननमा छिटपुट आक्रमण जारी छन्। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तोप प्रहारमा एक बालकसहित दुई जना घाइते भएका छन्। बुधबारलाई युद्धविराम लागू भएयताकै सबैभन्दा घातक दिन मानिएको छ।
उक्त आक्रमणमा लेबननकी पत्रकार अमल खलिलको पनि मृत्यु भएको छ। इसराइली सेनाले भने हिजबुल्लाहसम्बद्ध सैन्य संरचनाबाट निस्किरहेका सवारीसाधन लक्षित गरी आक्रमण गरिएको दाबी गर्दै पत्रकारलाई लक्षित नगरिएको जनाएको छ।
यसबीच हिजबुल्लाहका सांसद हसन फद्लाल्लाहले युद्धविरामलाई निरन्तरता दिन चाहेको तर इसराइलले पूर्ण रूपमा पालना गर्नुपर्ने सर्त राखेका छन्। उनले सरकारलाई इसराइलसँगको प्रत्यक्ष सम्पर्क अन्त्य गर्न पनि आग्रह गरेका छन्।
मार्च २ देखि पुनः चर्किएको द्वन्द्वमा हालसम्म करिब २ हजार ५०० जनाको ज्यान गएको लेबननी अधिकारीहरूले जनाएका छन्। इसराइलले दक्षिणी लेबननमा ५ देखि १० किलोमिटरभित्र क्षेत्र नियन्त्रणमा लिएर उत्तरी इसराइललाई हिजबुल्लाहको आक्रमणबाट जोगाउने उद्देश्य राखेको बताएको छ।











प्रतिक्रिया दिनुहोस्