आह्वान भएको भोलिपल्टै स्थगित भयो संसद्
काठमाडौं, १० बैशाख । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको पत्र केहीबेर अघि शीतलनिवास पुगेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिस अनुसार नै संसद् अधिवेशन स्थगनको निर्णय भएको राष्ट्रपति कार्यालय स्रोतले बतायो । ‘सिफारिस पत्रमा जे आएको थियो, त्यही बमोजिम निर्णय भएको छ,’ स्रोतले भन्यो ।
ससअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । यसअघि सरकार गठनपछिको पहिलो अधिवेशन चैत २७ गते स्थगित भएको थियो । यो अधिवेशनमा सभामुखमा डीपी अर्याल, उपसभामुखमा रुबीकुमारी ठाकुर चयन गरेको थियो । त्यस्तै विभिन्न संसदीय समितिका सभापतिहरू पनि चयन भएका थिए । उक्त अधिवेशनमा प्रधानमन्त्री बालेन शाहले भने सम्बोधन गरेनन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए । तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका छन् ।
सरकारले संसद् अधिवेशन स्थगन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा राष्ट्रपतिले आज अधिवेशन स्थगित गरेका हुन् ।
सिंहदरबार स्रोतका अनुसार सरकारले संसद्सँग समन्वय नगरी अधिवेशन आह्वान गरेकाले सच्चाइएको हो ।
सिंहदरबार स्रोतले भन्यो, ‘संसद्सँग सल्लाह नगरी मन्त्रिपरिषद्बाट निर्णय भएको रहेछ । तर संसद्मा तयारीको काम बाँकी रहेकाले मन्त्रिपरिषद्ले गरेको निर्णय सच्याइएको हो ।’
मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले बुधबार मात्रै १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । यो अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि(बजेट छलफलसमेत हुनेगर्छ ।











प्रतिक्रिया दिनुहोस्