शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्र पक्षधरबीच मोर्चाबन्दी सहित पुनर्गठनका लागि संयोजक ‘प्रचण्डको आव्हान

काठमाडौं, ९ बैशाख । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्र पक्षधरबीच मोर्चाबन्दी अपरिहार्य भएको बताए । साथै उनले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आव्हान गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको शुभकामना दिँदै उनले नेपाली कम्युनिष्टहरूको काँधमा विगतका संघर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी आएको बताए ।

दाहालले भनेका छन्, ‘इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु । साथै, नेपाली जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु।’

विगतको समीक्षा र वैचारिक संश्लेषणसहित वामपन्थी आन्दोलन पुनर्गठनको संकल्प लिन पनि उनको आव्हान छ ।

प्रतिक्रिया दिनुहोस्