निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर बनाउँछः पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक समाधान खोज्न विलम्ब नगर्न आग्रह गरेका छन् । सोमबार नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन नहुने बताउँदै उनले निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुने बताउँदै पूर्वराजा शाहले सबै पक्षको माग सम्बोधन हुनेगरी संवैधानिक समाधानबारे सोच्नुपर्ने बताए ।
‘निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन । जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं,’ शाहले भनेका छन् ।
उनले राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा निकै हेरफेर भएपनि त्यो कोरा परिवर्तनमात्रै भएको टिप्पणी गरेका छन् ।
साथै, देश प्रयोगशाला मात्रै भएको भन्दै राष्ट्र निर्माणमा पछि परेको उल्लेख गरेका छन् । उनले ‘राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्यौं । तर त्यो कोरा परिवर्तनमात्रै भयो,’ पूर्वराजा शाहले भनेका छन्, ‘दलदलको खलबलमा त हामी धेरै दगुरियौं । तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।’
यस्तो छ नववर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन–
त्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू
हामी नयाँ वर्ष २०८३ मा आइपुगेका छौं । नव वर्ष आरम्भको यो परिवर्तनको पुनित अवसरमा देशभित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मंगलमग शुभकामना ।
समयको प्रवाहसँगै हामीले हाम्रो देश र समाजलाई प्रगतिपथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र वाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनुपर्छ । तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ ।
वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्यौं । तर त्यो कोरा परिवर्तनमात्रै भयो । दलदलको खलबलमा त हामी धेरै दगुरियौं । तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।
स्थिरता, निरन्तरता, दृढता कता कता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्रै समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ । राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ ।
आज हाम्रो देश चौतर्फी समस्याको चाङमा छ । यो बेलामा नेपाली जनताको आशा र अभिलाषा पनि उत्तिकै छन् । यो अवस्थामा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरू र बाह्य मित्र शक्तिहरूको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ । नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र स्रोत साधनको संरक्षण एवं जीवन जिउने मानवीय सुुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने प्रकोपका विषयमा आन्तरिक सुरक्षालाई चुस्त बनाउन आवश्यक देखिन्छ । आजको विषम र अशान्त विश्वमा हामीले आफूलाई जोगाउने, उत्पादित वस्तुको जुगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पर्नुपर्ने देखिन्छ ।
आम नागरिकले कुनै प्रकारको शारिरिक, मानसिक, भौतिक तथा जीवन यापनको मामलामा त्रास,पीडा अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भरताबाट र स्वाधिन भएर पराधिनताबाट देशलाई जोगाउनुछ । देशको स्रोत शक्ति हो । सही उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम कर्तव्यतर्फ अब हाम्रो पाइला अघि बढ्नुपर्छ । निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन । जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संलल्पित बनौं । नेपाल शान्तिको भूमि बनोस् । उन्नतीको मुलुक बनोस् । अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस् । सबै नेपालीले न्याय शान्ति र सुख पाउन् । यही हाम्रो सदिक्षा हो । श्री पशुपतिनाथले सबैको कल्याण गरुन् ।














प्रतिक्रिया दिनुहोस्