गरिबी साझा समस्या : मुख्यमन्त्री गुरुङ

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताएका छन् ।

गरिबी निवारण कोषद्वारा पोखरामा आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका लागि स्थानीय सरकारहरूसँग प्रदेशस्तरीय अन्तक्र्रिया’ विषयक कार्यक्रमको उद्घाटन समारोहमा उनले गरिबीलाई जरैदेखि उन्मूलन गर्नु आवश्यक भएको बताए ।

“नेपालमा गरीब जनताको जीवनस्तरमा परिवर्तन आउन सकेको छैन”, उनले भने , “वस्तुनिष्ठ ढंगबाट विश्लेषण गरी वास्तविक गरीबको पहिचान गरेरमात्र यसको निवारण गर्न सकिन्छ ।”

प्रदेशको समृद्धिका माध्यमबाट विद्यमान गरिबीको संख्यालाई घटाउन प्रदेश सरकार लागिपर्ने बताउँदै उनले यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक हुने बताएका हुन् ।

प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले गरिबी निवारण चुनौतीको विषय भएको बताउँदै कृषिको आधुनिकीकरण, उद्यमशीलताको विकास आदिका माध्यमबाट गरिबीको संख्या घटाउँदै लैजान सकिने बताए ।

गरिबी निवारण कोषका उपाध्यक्ष डा.वाइबी थापाले कोषले गरिबी निवारणका कार्यक्रमलाई संघीय संरचनाअनुसार आगामी दिनमा अझै व्यवस्थित एवं प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए । आगामी दिनमा गरिबी निवारणका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनेमा उनिहरुको जोड थियो ।

गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले अन्य प्रदेशका तुलनामा प्रदेश नं ४ मा गरिबको संख्या अन्य प्रदेशका तुलनामा न्यून भएको बताउँदै हाल प्रदेशका म्याग्दी, लमजुङ, गोरखा र नवलपरासीमा गरिबी निवारणसम्बन्धी कार्यक्रम सञ्चालन भएको बताए ।

गरिबी निवारण कोषका सञ्चालक समिति सदस्य नारायण कोइरालाले नयाँ संघीय व्यवस्थाअनुसार आगामी दिनमा गरिबी निवारणका कार्यक्रम कसरी अघि बढाउने भन्ने सम्बन्धमा प्रादेशिकस्तरमा छलफल तथा अन्तक्र्रिया सञ्चालन गर्दै आइएको बताएका हुन् ।

कोषका ज्ञान व्यवस्थापन महाशाखा प्रमुख श्रीराम सुवेदीले प्रादेशिकरुपमा गरिएका अन्तक्र्रियामा स्थानीय सरकारका प्रतिनिधिसँग छलफल गरिएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्