अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गियो

काठमाडौं, २९ चैत । अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो।

वार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकाले आफ्नो ‘रेड लाइन’ प्रस्ट पारेको तर इरानले त्यसलाई स्वीकार नगरेको बताए। उनले भने, ‘हामीले निकै लामो समय खर्चिएर लचिलो बन्ने प्रयास गर्‍यौँ, तर इरानी पक्ष हाम्रा सर्तहरू मान्न तयार भएन।’

भान्सले अमेरिकाले इरानसमक्ष आफ्नो ुअन्तिम र उत्कृष्टु प्रस्ताव राखेको र अब त्यसलाई स्वीकार गर्ने वा नगर्ने जिम्मा इरानकै हातमा रहेको उल्लेख गरे।

अमेरिकी टोलीमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कफ पनि सहभागी थिए।

उपराष्ट्रपति भान्सले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा रोक्नु नै ट्रम्प प्रशासनको मुख्य लक्ष्य रहेको दोहोर्‍याए। इरानको आणविक क्षमता ध्वस्त पारिएको दाबी गर्दै उनले भविष्यमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने प्रतिबद्धता नजनाएसम्म सम्झौता हुन नसक्ने प्रस्ट पारे।
वार्ता विफल भए पनि पाकिस्तानको मध्यस्थकर्ता भूमिकाको भने अमेरिकाले उच्च प्रशंसा गरेको छ। भान्सले पाकिस्तानी प्रधानमन्त्री र फिल्ड मार्शल मुनिरलाई धन्यवाद दिँदै वार्तामा कुनै कमी भए त्यो पाकिस्तानको कारणले नभएको स्पष्ट पारे। वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी प्रतिनिधिमण्डल अहिले पाकिस्तानबाट फर्किने तयारीमा छ।

पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले अमेरिकी प्रतिनिधिमण्डल त्यहाँबाट प्रस्थान गरेको उल्लेख गरेको छ ।

इस्लामावादबाट उडान भर्नुअघि जेडी भान्सले एक पत्रकार सम्मेलनमा करिब २१ घण्टा चलेको वार्तापछि पनि अमेरिका र इरान कुनै सम्झौतामा पुग्न नसकेको बताए।

यस वार्तालाई लिएर इरानको तर्फबाट पनि भनाइ सार्वजनिक भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिका आफ्नो ‘अत्यधिक मागहरू’ बाट पछि हट्नुपर्ने बताएका छन्।

इरानी प्रतिनिधिमण्डलसँग नजिक रहेको एक स्रोतले फार्स समाचार एजेन्सीलाई बताएअनुसार अमेरिका वार्ताको टेबल छोड्ने बहाना खोजिरहेको थियो।

‘अमेरिकीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा गुमेको आफ्नो साख जोगाउन यो वार्ता चाहिएको थियो र इरानसँगको युद्धमा हार र गतिरोधका बावजुद उनीहरू आफ्ना अपेक्षाहरू घटाउन तयार थिएनन्,’ अलजजिराले स्रोतको हवाला दिंदै भनेको छ ।

‘इरानको अर्को चरणको वार्ताका लागि अहिले कुनै योजना छैन,’ उनीहरूले थपे। एजेन्सी

प्रतिक्रिया दिनुहोस्