एटीएम ३२% वृद्धि : गुणस्तरीय सेवा नपाएको ग्राहकको गुनासो

काठमाडौं । एक वर्षको अवधिमा बैङ्क तथा वित्तीय संस्थाका एटीएम (अटोमेटेड टेलर मेशिन) को सङ्ख्या १ तिहाइले बढेको छ । पछिल्लो समय डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता बढेसँगै एटीएम मेशिनको सङ्ख्या बढेको हो । तर, बढी जनघनत्व भएका शहरी क्षेत्रमा एटीएम मेशिन नथपिँदा र भएका पनि जीर्ण तथा पुरानो प्रविधिमा आधारित भएकाले सेवाको गुणस्तर भने खस्किएको ग्राहकको गुनासो छ ।

अहिले सबै बैङ्क तथा वित्तीय संस्थाका गरी देशभर २ हजार ६ सय २३ एटीएम मेशिन छन् । २०७३ माघ मसान्तसम्ममा यस्तो सङ्ख्या १ हजार ९ सय ८५ थियो । कुल एटीएम सङ्ख्यामा वाणिज्य बैङ्कको अंश मात्रै ९३ प्रतिशत छ । २०७३ माघमा १ हजार ७ सय ६४ रहेको वाणिज्य बैङ्कका एटीएम सङ्ख्या २०७४ माघमा बढेर २ हजार ४ सय ३९ पुगेको छ । यसैगरी विकास बैङ्कका एटीएम १ सय ७१ छ भने वित्त कम्पनीका २८ एटीएम छन् ।

वर्षेनि एटीएमको सङ्ख्या बढे पनि व्यस्त शहरमा ग्राहक भने गुणस्तरीय सेवा नपाएको गुनासो गर्छन् । पछिल्लो समय नक्कली एटीएम कार्ड बनाएर लाखौं रुपैयाँ चोरी हुन थालेपछि नेपाल राष्ट्र बैङ्कले चिपमा आधारित कार्ड प्रयोग गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दियो । २०७४ माघ १ गतेबाट चिपमा आधारित एटीएम अनिवार्य भएसँगै बैङ्क तथा वित्तीय संस्थाले चिपमा आधारित कार्ड जारी गरेका छन् । तर, पुराना एटीएम मेशिनमा घरीघरी समस्या आउने हुँदा वरिपरिका अरू एटीएममा समेत ग्राहकको भीड लाग्ने गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्कका डेपुटी कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे पहिलाका एटीएम मेशिनले धूलो तान्ने गरेकाले घरीघरी बिग्रिने समस्या रहेको बताउँछन् ।

यस्ता पुराना मेशिन समयमा नै प्रतिस्थापन नगर्दा ग्राहकले गुणस्तरीय सेवा लिन नसकेको बैङ्कर्स नै स्वीर्काछन् । राष्ट्रिय वाणिज्य बैङ्कले भने विस्तारै पुराना मेशिन बदलेर नयाँ थपेको पाण्डेले जानकारी दिए । एटीएम मेशिनमा समस्या आउँदा ग्राहकको रकम ननिस्कने तर खाताबाट काटिनेजस्ता समस्या पनि बढ्दै गएका छन् । साथै मेशिनमा नै कार्ड अल्झने र त्यसलाई लिनग हप्तौं कुर्नुपर्ने समस्याबाट पनि ग्राहक आजित छन् । यस्ता विभिन्न समस्याको समाधान गर्न विस्तारै मोबाइल र इण्टरनेट बैङ्किङको प्रवद्र्धन गर्न जरुरी भइसकेको छ ।

सधै व्यस्त रहने
लगनखेल, न्यूरोडलगायत एटीएममा ग्राहकको बढी भीड हुने र समस्या पनि बढी नै आउने गरेको लक्ष्मी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको भनाइ छ । त्यस्ता व्यस्त स्थानका एटीएम २४सै घण्टा चल्ने भएकाले पनि समस्या आउने गरेको उनको तर्क छ । एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनील केसी एटीएम इलेक्ट्रोनिक मेशिन भएकाले बिग्रनु स्वाभाविक भएको बताउँछन् । ‘कहिलेकाहीँ मेशिनमा पैसा सकिँदा ग्राहकले नजिकैका अर्को एटीएमबाट रकम झिक्न खोज्दा भीड हुने र अर्को मेशिन पनि बिग्रने हुन जान्छ,’ केसीले भने । साथै खाता सङ्ख्या बढी भएका शाखा अगाडिका एटीएम मेशिनमा ग्राहकको भीड हुनु स्वाभाविक भएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्