संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, सभामुख पदमा अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने

काठमाडौं, २२ चैत। संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्न लागेको हो ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने सूची तय छ ।

शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । यसरी अन्य कार्यसूचि पनि रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्