सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं, २० चैत । सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन भने चैत २२ गते गर्ने तालिका तय भएाको छ ।
संघीय संसद सचिवालयका अनुसार आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकिएको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।
२२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।
रास्वपाले सभामुख पदमा पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई अघि सारेको छ । रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । उनी सभामुख हुने निश्चित छ । रास्वपा प्रतिनिधि सभामा १८२ सिटसहित ठूलो दल रहेकाले अर्याल सभामुख हुने निश्चित भएको हो ।
हाल सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्दै आएका छन् ।
सभामुख पदको निर्वाचन पछि चैत २३ गते राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ । त्यसका लागि चैत २२ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
यसअघिकी उपाध्यक्ष विमला घिमिरेको कार्यकाल २० फागुनमा सकिएकाले हाल राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त छ । यो पनि निर्वाचनबाट पदपूर्ति गर्ने छ । दुबै संसदले आफ्नो रफतारमा काम गर्ने छ ।














प्रतिक्रिया दिनुहोस्