डा. देवकोटा पुर्ख्यौली घर गोरखा पुगेर : पिँढीमा सुस्ताए, सिस्नेधाराको पानी पिए र फर्कीए काठमाडौँ

गोरखा । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा पुख्र्यौली घर गोरखा पुगेर फर्किएका छन् । न्यूरो अस्पतालमा उपचारारत डा. देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो ।
डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुख्र्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए । देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए । उनलाई सहजरुमा लिनको लागि घरभन्दा करिब समय मिटर माथि हेलिप्याड बनाइएको थियो । उनी आउने खबर पाएर ४÷५ सय आफन्त तथा शुभचिन्तक जम्मा भएका थिए ।

देवकोटालाई घरमा लगेर पिँढीमा राखियो त्यसपछि लगतै घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर खुवाइएको छ । गिलासको पानी चम्चाको सहयोगले डा. देवकोटालाई पानी खुवाइएको थियो ।

पुख्र्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन ।
‘उहाँ होसमै हुनुहुन्छ । म कहाँ आइपुगेँ भन्ने पनि थाहा छ’ उनको साथमा रहेका आशिष देवकोटाले भने, ‘चिकित्सक र परिवारका सदस्यसँग कुरा हुन्छ । तर, अरुसँग दोहोरो कुराकानी गर्नु भएको छैन ।’

डा. देवकोटालाई शनिबार नै काठमाडौं ल्याइएको छ । त्यसका लागि भने घरमुनी अर्को हेलिप्याड बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्