सैन्य आक्रमण थप १० दिनका लागि स्थगित, ट्रम्पले इरानलाई दिए थप १० दिनको समय
काठमाडौं, १३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ऊर्जा संरचनामा गर्ने भनिएको सैन्य आक्रमण थप १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
इरानसँग वार्ता भइरहेको भन्दै ट्रम्पले इरानी ऊर्जा संरचनामा हमला गर्ने निर्णय थप दिनका लागि स्थगित गरेको भनेर आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसलमा लेखेका छन्।
ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्नका लागि गत शनिबार ४८ घन्टाको अल्टिमेटम दिएका थिए।
४८ घन्टे अल्टिमेटमपछि ट्रम्पले इरानलाई पाँच दिनभित्र हर्मुज नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका थिए।
त्यसको समयावधि सकिन लागेपछि ट्रम्पले ऊर्जा संरचनामा प्रहार गर्ने योजना अप्रिल पहिलो सातासम्म लम्ब्याएका हुन्।
ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गरे मध्यपूर्वका सबैखाले पूर्वाधारमा आक्रमण गर्ने धम्की इरानले यसअघि नै दिएको थियो।
यसबीच पाकिस्तानी अधिकारीहरूले मध्यस्थकर्ताको भूमिका खेल्दै युद्धविरामको प्रयत्न गरिरहेको छ।
ट्रम्पले वार्ता सकारात्मक रहेको पनि बताएका छन्।
मध्यपूर्व हेर्ने ट्रम्पका विशेष दूत स्टिभ विटकोफले पाकिस्तानमार्फत इरानलाई युद्धविरामका लागि १५ बुँदे प्रस्ताव पठाइएको पुष्टि गर्दै त्यसमा सकारात्मक प्रगति भइरहेको बताएका छन्।
युद्धविरामका लागि अमेरिकी प्रस्तावमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने, तीन ठूला परमाणु भट्टीहरूस फर्दो, नतान्ज र इस्फहान बन्द गर्ने, समृद्ध गरिएका युरेनियम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएईए०लाई बुझाउने लगायत उल्लेख छ।
त्यस्तै इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने, हर्मुज समुद्री मार्ग पूर्ण रूपमा खुला गर्ने लगायतका सर्त रहेको अमेरिकी पत्रिका फरेन पोलिसीले जनाएको छ।
इरानले इसराइलमाथि घेराबन्दी गर्न लेबननमा हिजबुल्लाह, यमनमा हुथी, प्यालेस्टाइनमा हमासलाई पैसा र हतियार दिँदै आएको छ।
अमेरिकाले यो कार्य पनि पूर्ण रूपमा बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
अमेरिकी प्रस्ताव स्वीकार गरेको खण्डमा अमेरिकाले इरानमाथिको सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने, नागरिक परमाणु ऊर्जा सम्बन्धी कार्यक्रमलाई सहयोग र सो कार्यक्रमलाई अन्तर्राष्ट्रिय रूपमा निगरानी राखिने भनेर फरेन पोलिसीले लेखेको छ।
यद्यपि यो प्रस्ताव पठाएको चौबीस घन्टाभित्रै इरानले अस्वीकार गरी काउन्टर प्रस्ताव तयार पारेको थियो।
उसले अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी पनि खोजेको छ। त्यससँगै अमेरिकाले इरानमा आक्रमण गरेको क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सेना फिर्ता लानुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गरेबापत इरानलाई जहाजहरूले शुल्क तिर्नुपर्ने लगायत सर्त पनि राखेको छ।
त्यसबाहेक इसराइलले लेबननमा रहेको इरान संचालित हिजबुल्लाह समूहलाई प्रहार गर्न बन्द गर्नु पर्ने र आफ्नो मिसाइल कार्यक्रम पनि बिना कुनै सर्त संचालन गर्नु पाउनु पर्ने भनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता गर्ने भनेर फेरि छल गर्लान् भनेर इरान सशंकित देखिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले लेखेका छन्।
इरानसँग वार्ता गरिरहेकै बेला गत जुनमा र यसपालि समेत अमेरिकाले सैन्य आक्रमण गरेको थियो।
दुई पटक वार्ता गरेर झुक्क्याएका ट्रम्पले फेरि पनि त्यसो गर्ने शंका वार्ताका लागि मध्यस्थता गरिरहेका देशहरूसँग इरानले व्यक्त गरेको छ।
अहिले पनि अमेरिकाले मध्यपूर्वमा ठूलो संख्यामा थप सैनिक परिचालन गर्ने निर्णय गरेको देखाउँदै त्यस्तो शंका बढेको इरानले बताएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
इरानको त्यस्तो शंकाको निवारण गर्नका लागि यसपालि ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई वार्ता गर्न पठाउन लागेको मानिन्छ।
फेब्रुअरीमा ओमानको मध्यस्थतामा इरानसँग भएको वार्तामा ट्रम्पले विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नरलाई पठाएका थिए। एजेन्सी














प्रतिक्रिया दिनुहोस्