इनिशाको सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष, प्रेमी विरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा

काठमाडौं, ११ चैत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ ।

‎जसमा इनिशाको सामूहिक बलात्कार नभएको निष्कर्ष प्रहरीले निकालेको छ। ‎आफूलाई इनिशाका प्रेमी भन्ने १६ वर्षीय किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताइएको छ। प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा कसुरमा जन्मकैदको मागसहित सिफारिस गरेको छ।

‎गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिशा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।

‎फागुन २३ गते शनिवार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

‎प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै ती १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो ।

‎‎भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर गरेको पोस्टमार्टम रिपोर्टमा जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बताएको थियो।‎

‎रिपोर्टको व्याख्यामा चाहिँ जेनाइटल पार्टहरूमा चोटपटक लागेको भनिएको छ, त्यो भनेको यौनाङ्ग, भित्र हाइमनदेखि पाठेघरमा पनि चोट लागेको कारणले अत्यधिक रक्तश्राव भएको भनिएको छ।

‎इनिशाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीनको नाममा निवेदन दिए । प्रहरीले ती तीन जना नाबालकलाई सोही दिन पक्राउ गर्‍यो । उनीहरू पनि सबै नाबालक नै हुन् ।‎

मुख्य अभियुक्त भनिएका किशोरले बयानका क्रममा इनिशा बेहोस भएपछि अस्पताल लैजान अन्य तीन जनालाई सहयोगका लागि बोलाएको बताएका थिए ।

‎तर प्रहरीले उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउने गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ।

‎‎’उनीहरूमाथि इनिशालाई समयमा अस्पताल पुर्याउन मद्दत नगरेको, समयमा प्रहरी र परिवारलाई खबर नगरेको भन्ने हिसाबले कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने भनेको छ,’ एक प्रहरी अधिकारीले रातोपाटीलाई भने, ’बाँकी कुन दफा लाग्ने, कति कस्तो सजाय तोक्ने भन्ने सरकारी वकिलको कार्यालय हुँदै अदालतले डिसिजन गर्ला ।’

‎‎उनका अनुसार, उनीहरूले बोलेको कुरा र घटनास्थलका भूमिका शङ्कास्पद भएको हिसाबले उनीहरुविरुद्ध ज्यान सम्बन्धी मुद्दा अघि बढाउन भन्ने तरिकाले सिफारिस गरिएको हो ।

‎‎’अनुसन्धानमा अरू विषय पनि खुल्या छन्, त्यो भोलि अदालतले सबै कुरा हेर्छ, केलाउँछ,केलाइसकेपछि एउटा डिसिजन देला,’ उनले भने ।

‎अझै कतिपय प्राविधिक रिपोर्टहरू आउने बाँकी रहेको पनि प्रहरीले जनाएको छ।

उक्त घटनामा अनुसन्धानका लागि सिआइबी, पोलिग्राफदेखि अन्य विज्ञ टोलीहरू सहभागी थिए । ती कतिपय रिपोर्टहरू अध्ययनका लागि बाहिरी देश समेत पठाउनुपर्ने देखिएको सुर्खेत प्रहरीले जनाएको छ। जसका कारण अनुसन्धान अझै बाँकी छ।

प्रतिक्रिया दिनुहोस्