डाक्टर देवकोटा परिवारसहित जन्मगाउँमा

गोरखा । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटा आफ्नो जन्म घर पालुंटार नगरपालिका ४ स्थित पण्डित गाउँमा पुगेका छन्। पुर्खौली घरको पिँढीमा बस्ने र सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेपछि देवकोटालाई गोरखा लगिएको हो। न्यूरो अस्पतालबाट हेलिकोप्टरमा राखेर सिधै उनलाई उनको पुर्खौली घर पुर्‍याइएको हो। हेलिकोप्टर ल्याण्ड भएको ठाउँबाट करिब १० मिनेट स्टेचरमा बोकेर उनलाई आफन्तले घर पुर्‍याए।

जन्म घरको पिँढीमा बस्ने र सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेपछि उनलाई हेलिकोप्टरमार्फत ल्याइएको डा देवकोटाका भाइ प्रदीप चन्द्रले जानकारी दिए।  उनलाई केहीबेर पुर्खौली घरमा राखेर काठमाडौं फर्काउने तयारी छ। डाक्टर देवकोटालाई लिएर उनका तीन छोरी पण्डित गाउँ आएका छन्।

देवकोटा पित्तथैलीको क्यान्सरले पीडित छन्। उपचार असम्भव प्रायः भएपछि उनी विदेशबाट नेपाल फर्किएका थिए। उनलाई बेला बेलामा सञ्चो भएजस्तो हुने र बेला बेलामा रोगले च्याप्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्