चट्याङसहित हल्का वर्षा तथा हिमपातको संभावना

काठमाडौं, ११ चैत। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाइएको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाइएको छ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा तराईका भू–भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान छ ।

साथै वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्