एफएनसीसीआई निर्वाचन : वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको उम्मेदवारी घोषणा, महिला सशक्तिकरणमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार गर्दै करिब ३०० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएकी छिन् ।

उनको नेतृत्वमा विकसित उक्त नेटवर्कले महिला उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको मानिन्छ । सौन्दर्य व्यवसायसँगै उनले विभिन्न उद्योग–व्यवसायमा समेत लगानी विस्तार गर्दै बहुआयामिक उद्यमीको रूपमा आफूलाई स्थापित गरिसकेकी छिन् ।

नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) को कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी महरा हाल सचिवको महत्वपूर्ण भूमिकामा क्रियाशील छिन् । यससँगै विभिन्न पेसागत तथा सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी महराको अनुभव निकै सशक्त छ, जसले संस्थागत कार्यप्रणाली र नीतिगत प्रक्रियामा उनको पकड देखाउँछ ।

उम्मेदवारी घोषणा गर्दै महराले ‘सशक्त महिला नेतृत्व र उद्यमशीलताको आधार’ भन्ने मूल नारालाई अघि सारेकी छिन् । उनले महिला सहभागिता विस्तार, साना तथा मझौला उद्यम (एसएमई) को सुदृढीकरण र सेवा क्षेत्रको औपचारिकीकरणलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताएकी छिन् ।

उद्योग–वाणिज्य क्षेत्रमा महिला नेतृत्वको उपस्थिति अझै सीमित रहेको सन्दर्भमा महराको उम्मेदवारीलाई धेरैले सकारात्मक हस्तक्षेपका रूपमा लिएका छन् । विशेषगरी आर्थिक आत्मनिर्भरता, सीप–आधारित रोजगारी र महिला उद्यमी सशक्तिकरणलाई जोड दिने एजेन्डाले आगामी निर्वाचनमा नयाँ विमर्श सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

आगामी २९ र ३० गते हुने महासंघको ६०औँ वार्षिक साधारण सभामार्फत नयाँ नेतृत्व चयन हुने छ ।

भावी नेतृत्वका लागि संघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र महासंघको मौजुदा व्यवस्था अनुसार ‘वेटिङ प्रेजिडेन्ट’ समेत रहेका वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छुट्टाछुट्टै समूह निर्माण गरी भावी नेतृत्वका लागि दाबी अघि सारेका छन् ।

ढकाल समूहबाट हेमराजले वरिष्ठ उपाध्यक्ष, नरेश लाल श्रेष्ठले वस्तुगत उपाध्यक्ष, ज्योत्सना श्रेष्ठले एसोसिएट उपाध्यक्ष, उमेश डालमिया र कल्पना गैरेले जिल्ला नगर उपाध्यक्ष तथा कमला श्रेष्ठले महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सोही समूहबाट सुष्मा महराले केन्द्रीय कार्यकारिणी सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्