शेरबहादुर देउवा र शेखर कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाए
काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने भएको छ । आइतबार धुम्बाराहीमा बसेको तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा.शेखर कोइरालासहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
‘आज धुम्बाराहीमा पूर्णबहादुर खड्का, डा.शेखर कोइरालासहितका १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूको बैठक बस्यो,’ नेता विश्वकर्माले भने, ‘केन्द्रीय कार्यसमिति बैठक बोलाउने र निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक छिट्टै बोलाउने भनिएको छ । मिति समझदारी गरेर तय गरिन्छ ।’
बैठकमा पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गर्ने उद्देश्य रहेको विश्वकर्माले जानकारी दिए । देउवा समूहको निर्णयले कांग्रेसभित्रको विवाद थप चर्किने देखिएको छ ।
पुस २७ देखि ३० गतेसम्म देउवा समूह र डा.कोइराला समूहको असहमतिका बाबजुद विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसमा नयाँ समिति चयन भएको थियो । देउवा र कोइराला समूहले त्यसलाई नमान्ने भन्दै रिट लिएर सर्वोच्च अदालत गएका थिए । त्यो रिट विचाराधीन छ ।
निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई पार्टीको आधिकारिकता दिइसकेको छ। थापाकै नेतृत्वमा चुनावमा गएको कांग्रेसले पराजय व्यहोरेको छ । शुक्रबारदेखि चुनावी समीक्षा गर्न थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बसिरहेका बेलामा अर्को समूहले त्यस्तो निर्णय गरेको हो । यसले काँग्रेस दुइ भएको सन्देश गएको छ ।














प्रतिक्रिया दिनुहोस्