एकै दिन ४५ हजार ८८८ वटा सिलिन्डर ग्याँस बजारमा, होला त सहज
काठमाडौं, ३ चैत । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुँदै गएको छ ।
निगमका अनुसार आज उपत्यकाका विभिन्न २४ वटा ग्यास बोटलिङ प्लान्टहरूले कुल ४५ हजार ८८८ वटा सिलिन्डर बजारमा पठाएका छन् । यो सङ्ख्या उपत्यकाको सामान्य दैनिक मागको तुलनामा करिब १० प्रतिशतले बढी हो ।
आपूर्ति प्रणालीमा सबैभन्दा ठूलो हिस्सा नेपाल ग्यास उद्योगले ओगटेको छ । बालाजुमा रहेको यस उद्योगले १० हजार ३० वटा सिलिन्डर बजारमा पठाएको छ । यस्तै, श्री ग्यास उद्योगले ४ हजार ४९८, एभरेष्ट ग्यासले ४ हजार २६ र सीता श्री ग्यासले ३ हजार ४२२ वटा सिलिन्डर बजारमा पठाएका छन् ।
अन्य उद्योगहरू मध्ये सगरमाथा ग्यासले ३ हजार २१७, सूर्य ग्यासले २ हजार ६६१ र उग्रचण्डी ग्यासले ३ हजार ४२२ वटा सिलिन्डर वितरण गरेका छन् । त्यसै गरी सुगम ग्यासले २ हजार ८२०, मेट्रो काठमाडौंले २ हजार ४४८, ओम ग्यासले १ हजार ८१५ र श्रीकृष्ण ग्यासले १ हजार ८१० थान सिलिन्डर बजारमा पठाएका छन् ।
हिमालय पेट्रो केमिकल्सले ३ हजार १०४ र साई बाबा ग्यासले २ हजार ४५० वटा सिलिन्डर आपूर्ति गरेका छन् । भने भानु ग्यासले ९५५ र गीता ग्यासले ५७४ वटा सिलिन्डर बजारमा पठाएका छन् । बाबा ग्यास, गौरी शंकर, केब्सन्स र मनोज ग्यासले पनि बजारमा ग्यास पठाएका छन् । हाल सबै ग्यास उद्योगहरूले सरकारको निर्देशन अनुसार आधा ९७।१ केजी० मात्रै ग्यास भरेर बजारमा पठाइरहेका छन् ।
दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा पठाइएकाले उपभोक्तामा हुनसक्ने अभावको समस्या हटेर जाने विश्वास गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्