संघीय लोकतान्त्रिक मोर्चाले दियो बालेन शाहलाई बधाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक हुने विश्वास

काठमाडौं, २९ फागुन । सङ्घीय लोकतान्त्रिक मोर्चाले प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाहले प्राप्त गरेको व्यापक जनसमर्थनलाई स्वागत गर्दै उनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायका लागि हर्षको विषय भएको बताएको छ।

शुक्रबार जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले बालेनको जितलाई मधेशी, थारु लगायत उत्पीडित जनताले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना, सङ्घर्ष र बलिदानको परिणामका रूपमा चित्रित गरेको छ ।

जसपा नेपालका संरक्षक महन्थ ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मधेशी सपूत मा। बालेन्द्र शाह ९बालेन० को नेतृत्वलाई आम जनताले व्यापक जनसमर्थन प्रदान गरेकोले निजलाई प्रधानमन्त्रीको रूपमा हेर्न पाउनु हामी लामो समयदेखि सङ्घर्षरत मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको निम्ति हर्षको विषय हो।’

बैठकले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अग्रिम शुभकामना तथा बधाई ज्ञापन समेत गरेको छ।

संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक हुने विश्वास

बधाई ज्ञापनसँगै मोर्चाले बालेनको नेतृत्वबाट मधेसका पुराना र थाती रहेका मुद्दाहरू सम्बोधन हुने ठूलो अपेक्षा राखेको छ। नेपाली जनताले विगतमा गरेका सङ्घर्ष र बलिदानबाट स्थापित गणतन्त्र, सङ्घीयता, लोकतन्त्र र समावेशिता लगायतका उपलब्धिहरूलाई नयाँ सरकारले संस्थागत गर्ने मोर्चाले विश्वास व्यक्त गरेको छ ।

साथै, संविधान संशोधन, प्रदेशको सीमाङ्कन हेरफेर, जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सङ्घीयतालाई अझ बलियो बनाउने जस्ता महत्त्वपूर्ण मुद्दाहरू बालेनको नेतृत्वमा सम्बोधन हुने विश्वास मोर्चाले व्यक्त गरेको छ।

बैठकले सङ्घीय लोकतान्त्रिक मोर्चाका अग्रज नेता महन्थ ठाकुर हालै राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएकोमा उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

प्रतिक्रिया दिनुहोस्