इनिसा विक हत्याा प्रकरणको अनुसन्धान सीआईबीले गर्ने
काठमाडौं, २८ फागनु । इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विक घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।
प्रहरी निरीक्षकको कमान्डमा ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी मोनजंग बुढथापाले जानकारी दिए । ‘हामीले घटनाको थप अनुसन्धानको लागि सीआईबीसँग सहयोग मागेका थियौं,’ डिएसपी बुढथापाले भने, ‘भोलीदेखि सीआईबीको टोलीले थप अनुसन्धान थाल्छ ।’
सुर्खेत प्रहरीले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकेको डीएसपी बुढथापाले बताए । ‘पहिलो चरणको अनुसन्धान हामीले जिल्लाबाटै सकाएका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘घटनाको गाम्भीर्यतालाई मध्यनजर गरेर केन्द्रीय अनुसन्धान ब्यूरोको पनि सहयोग लिइएको हो ।’
अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आइसकेको छ । फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवै जनाको मोबाइल लगायत विद्युतीय सामाग्रीहरू अनुसन्धानका लागि पठाएको र त्यसको रिपोर्ट आइनसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।
‘केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टकसिकोजिकल, बायोसेरोलोजिकल परिक्षणका लागि पठाएका छौं । त्यो रिपोर्ट आएपछि, पोस्टमार्टम रिर्पोर्टसँग तुलता गरेर हत्याको अन्तिम निकर्षमा पुग्छौं,’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि एउटा छुट्टै अनुसन्धान टिम बनाएर काम गरिरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए । जिल्लाको अनुसन्धान टिमसँग कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगन्जबाट पोलिग्राफ गर्ने टोलीले पनि काम गरिरहेको छ ।
‘पोलियाग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने छ, प्रहरी मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरू प्रयोगशालामा पठाएको छ,’ उनले भने । पोस्टमार्टम रिपोर्ट, पोलियाग्राफी, कल डिटेल्स लगायत किशोर र किशोरीबीच भएका सम्पूर्ण विद्युतीय प्रमाणहरू प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक शाहीले बताए ।
प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीका आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ ।
सो प्रतिवेदनअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।
गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कार पछि हत्या भएको थियो । मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको डिएसपी बुढथापाले जानकारी दिए । सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्