समानुपातिकतर्फको सिट बाँडफाँटको गृहकार्यमा जुट्यो निर्वाचन आयोग
काठमाडौं, २७ फागुन । निर्वाचन आयोग समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको मतका आधारमा उनीहरूको सिटबाँडफाँटको गृहकार्यमा जुटेको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिक तर्फको मतगणना सकिएसँगै सिट बाँडफाँटको गृहकार्यमा लागेको हो ।
दलहरूले पाएको सदर मतको आधारमा सिट तय हुन्छ । सिट तय भएपछि त्यस आधारमा सम्बन्धित दलहरूलाई समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ ।
‘भ्याएसम्म आजै बेलुकी वा भोलिसम्ममा दलहरूलाई पत्र लेखेर बन्दसूचीमा रहेका नामबाट नाम सिफारिस गर्न पत्र लेखिनेछ,’ उनले भने ।
दलहरूलाई नाम सिफारिस गर्नका लागि तीन दिनको समय दिने तयारी छ ।
दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुनस् हेर्छ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएलगत्तै निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ ।














प्रतिक्रिया दिनुहोस्