आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदै

काठमाडौं, २५ फागुन। आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ । संसद् सचिवालयका अनुसार दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।

शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।

राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा भएको थियो । उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ ।

संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई भनेको छ ।

उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एकरएक प्रति लिएर जानुपर्छ ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी अनुवादको एक प्रति २४ फागुनसम्म संसद् सचिवालयमा उपलब्ध गराउनुपर्ने हुन्छ ।

यही २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि गत ११ माघमा निर्वाचन भएको हो । एक जना राष्ट्रपतिबाट मनोनित सांसद थिए । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन् ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्