मना सार्कीलाई शहिद घोषणा गर्न प्रदेश सांसदको माग

सुर्खेत । कर्णाली प्रदेशका सांसदहरुले जातीय विभेद हुने गाली गलौजसहित कुटपिट पछि हत्या गरिएकी कालिकोटकी ४५ वर्षीया मना सार्कीलाई शहिद घोषणा गर्न माग गरेका छन् ।

शुक्रबार कर्णाली प्रदेशको दोस्रो अधिवेसनको दशौं वैठकमा विशेष समयमा बोल्दै सांसदहरुले हत्याको छानविनको लागि समिती गठन गरी सत्य तथ्य बाहिर ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद रातो कामीले भने ‘आज दुखद कुराको बखान गरिरहेका छौं । जनप्रतिनिधिको हत्या कसरी भयो ? हुनुका पछाडीका कारणहरु के हुन सत्य सुचना हामीले प्राप्त गर्न सकेका छैनौं । छानविन समिति बनाएर अविलम्ब सत्य तथ्य बाहिर ल्याइयोस् ।’

पीडतका परिवारलाई विशेष प्रकारको क्षतिपुर्तिको व्यवस्था गर्न र मृतकलाई शहिदको दर्जा दिन उनले सरकारसंग माग गरेका छन् । यसैगरी उनले समानता कायम गर्नका खातिर मानिसहरुले बलिदान गरीसकेको भन्दै कसैको रगतको मुल्य कम हुने र कसैको बढी हुने भयो भने थप असमानता हुने जिकिर गरे ।

यो प्रदेशमा असमानता चुलिएको बताउँदै उनले अब श्रंखलावद्ध रुपमा यस्ता घटना घटाइ उत्पीडित समुदाय माथी जाइलाग्ने कुरा हो भने यसको प्रतिवाद हुने र गहिरो मुल्य चुकाउनु पर्ने पनि चेतावनी दिए

सांसद दानसिं परियारले दलितको मुदा दलितको मात्रै भइरहेको र अझै पनि राज्यको हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए । जातिय बिभेदको नाममा हत्या गरिने यस्ता घटनाहरु आइन्दा सुन्न नपरोस् भन्दै परियारले जनप्रतिनीधिको हैसिएतले सार्कीलाई शहिद घोषणा गर्न माग गरे ।

यसैगरी सांसद सिता कुमारी नेपालीले मना सार्कीको हत्यालाई इङ्गित गर्दै भनिन् ‘मान्छे भएर बाँच्न पाउने अधिकार छ कि छैन ? त्यो विषयलाई अन्यत्र मोडीदैछ भन्ने सुन्नमा आएको छ । त्यस्तो नहोस् । पीडकलाई अविलम्ब कारबाही गरियोस् ।’

सांसद राजु नेपालीले भावबिभोर हुँदै सोधिन् ‘पानी छोएकोमा मारिनु पर्ने कस्तो व्यवस्था हो ?’

सांसद पद्मा खड्काले मना सार्कीको घटनाले महिलाहरु असुरक्षित छन् भन्ने कुरा देखाएको औंल्याउँदै छानविन गरी वस्तुनिष्ट कुरा बाहिर ल्याउन समिती गठन गर्न माग राखिन् ।

यसैगरी सांसद कौशिलावति खत्रीले समतामुलक समाजको निर्माणको अभियानमा जुटीरहँदा मना सार्की माथी भएको घटनाले आफुहरु स्तब्ध र त्रसीत भएको बताइन् ।

जनप्रतिनीधिको सुरक्षाको जिम्बेवारी सरकारले लिनु पर्ने भन्दै उनले यथासिघ्र दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपुर्तिको लागि सरकारको ध्यानाकर्षण गराइन् । साथै यस्ता घटना दोहोरीन नदिन जनचेतनामुलक अभियान चलाउन सरकारलाई सुझाव समेत दिइन् ।

सांसद कुर्मराज शाहीले घटनाको प्रकृति, अन्तरबस्तु जे भएतापनि आवेगमा मृत्युदण्ड दिइएको कुरा अकल्पनीय र खेदजनक भएको बताए ।

सांसद अम्मर थापाले जातिय घटना हो भने तत्काल कारबाहीको निम्ति सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी सांसद पदम बहादुर रोकायले पनि मना सार्कीको घटनाका अपराधिलाई कडा कारबाहीको लागी माग गरे ।

नरहरिनाथ गाउँपालिका वडा नम्बर–९ की दलित महिला सदस्य मनाको यही जेठ १९ गते राती सवा ८ बजे छिमेकी २२ वर्षीया राजीन्दा शाही र १९ वर्षीया सिर्जना शाहीले जातीय अपमान हुने गाली गलौज गर्दै लाठी र मुड्कीले कुटपिट गरी हत्या गरेको जनाउँदै मृतकका जेठा छोरा पदम सार्की नेपालीले कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरीले मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्