अमेरिकामा आँधी र भारी हिमपातका कारण लाखौँ मानिसहरू प्रभावित, ११ हजार ५५ भन्दा बढी उडानहरू रद्द
काठमाडौं, १३ फागुन । अमेरिकामा आएको तीव्र हावा (आँधी) र भारी हिमपातका कारण लाखौँ मानिसहरू प्रभावित भएका छन् । भारी हावा र हिमपातले हजारौं उडानहरू बन्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार र मंगलबारको बीचमा ११ हजार ५५ भन्दा बढी उडानहरू रद्द गरिएको समाचारमा उल्लेख छ ।
सोमबार मात्र, लगभग ५ हजार ६०० देखि ५ हजार ७०० उडानहरू रद्द गरिएको थियो, जुन देशभरका सबै उडानहरूको लगभग २० प्रतिशत हो । राष्ट्रिय मौसम सेवाका अनुसार, रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागहरूमा लगभग ३७ इन्च हिउँ परेको थियो ।
हिमपातका कारण, उत्तरपूर्वी राज्यहरूमा ६ लाखभन्दा बढी घरहरूमा बिजुली अवरुद्ध भएको छ । सोमबार साँझसम्म, ५ लाख १९ हजार २३२ घर र कार्यालयहरू बिजुलीविहीन भएका थिए । भारी हिमपातका कारण, बोस्टन ग्लोबले आफ्नो १५३ वर्षको इतिहासमा पहिलो पटक आफ्नो अखबार छाप्न सकेन ।
न्यूयोर्कको सेन्ट्रल पार्कमा लगभग २० इन्च हिउँ परेको छ भने लङ आइल्याण्डको इस्लिप क्षेत्रमा २२ इन्चभन्दा बढी हिउँ परेको छ । रोड आइल्याण्डको प्रोभिडेन्समा ३२।८ इन्च हिउँ परेको छ, जसले १९७८ मा स्थापित २८।६ इन्चको अघिल्लो रेकर्ड तोडेको छ।
आँधीको प्रभाव सडक र हवाई यातायातमा मात्र सीमित थिएन, न्यूयोर्क र बोस्टन बीचको रेल सेवा समेत अवरुद्ध रह्यो । आइतबार साँझ सबै ब्रोडवे थिएटर कार्यक्रमहरू रद्द गरिएको थियो । एजेन्सी














प्रतिक्रिया दिनुहोस्