जनकपुर–जयनगर रेलसेवा आगामी कात्तिकमा सञ्चालनमा आउने
काठमाडौं । पूर्वपश्चिम रेलमार्गअन्तर्गत पर्ने जनकपुर–जयनगर खण्ड आगामी कात्तिकदेखि ब्रोडगेज रेलसेवा सञ्चालनमा आउने भएको छ । चार वर्ष अघिसम्म न्यारोगेजमा सञ्चालनमा रहेको जनकपुर–जयनगर रेल सेवा नयाँ मोडालिटीमा पुनः सञ्चालनमा आउन लागेको हो ।
भारत सरकारले सञ्चालनमा ल्याएको यो रेल सेवा नयाँ निर्माण शुरु गरेको रेल सेवा ब्रोडगेजमा सञ्चालन गर्ने गरी तयारी भइरहेको रेल विभागका सूचना अधिकारी एवं वरिष्ठ इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए । विभागका अनुसार आगामी अक्टोबर अर्थात कात्तिकदेखि सञ्चालनमा आउने गरी ३५ किलोमिटरमा ब्रोडगेजको रेल सञ्चालनलाई ७० किलोमिटरको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको विभागले जानकारी दिएको छ । जसमध्ये आगामी अक्टोबर अर्थात कात्तिकदेखि ३५ किलोमटिर सञ्चालनमा आउने र बाँकीको कामलाई निरन्तर बढाईने भएको छ ।
भारत सरकारको सहयोगमा निर्माणाधीन जनकपुर–जयनगर–बर्दिवास खण्डको जयनगर–जनकपुर–बिजलापुरसम्मको ५२ किलोमिटरखण्डको पुरानो रेल लिकलाई सुधार गर्ने काम हाल ८० प्रतिशत सकिएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । भारतले बर्दिवासदेखि बिजलापुरसम्मको जम्मा ७० किमी दूरीमा रेलमार्ग अहिले बनाउन लागेको छ । यसमध्ये आगामी अक्टोबर अर्थात कात्तिकसम्ममा ३५ किमी पूर्णरूपमा तयार हुने उनले बताए ।
जोगबनीदेखि विराटनगर ८० प्रतिशत काम सकिएको छ । जग्गाको विवादले कहिले सकिन्छ भन्न सक्ने अवस्था छैन । विभागकाअनुसार भारतले निर्माण गरिरहेको ७० किमी रेलमार्गमध्ये तीन किमी भारतीय भूमिमा र ६७ किमी नेपाली भूमिमा पर्छ । उक्त रेलमार्गको निर्माण कार्य सन् २०१४ देखि शुरु भएको हो । नयाँ निर्माणका क्रममा तीन वर्ष यता बन्द रहेको जनकपुर–जयनगर रेल मार्गमा अहिले कम्पनीले कार्यालय भवन, भन्सार र कर्मचारीको आवास गृह लगायतका काम पनि भइसकेको बताईएको छ ।
नेपालसँग अहिले रेल नभए पनि यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कुराकानी भइरहेको उपाध्यायले बताए । रेलका इञ्जिन र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भने भएको छैन । विभागले अर्थ मन्त्रालयसँग रेल र डिब्बाका लागि तीन अर्ब रुपैयाँ लाग्ने यसअघि नै जानकारी गराइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्