सल्यान कपुरकोटमा जिप दुर्घटना हुँदा चालक घटनास्थलमै मृत्यु, चार जना घाईते

काठमाडौं, २८ माघ । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ३५६१ नम्बरको पिकअप जिप चोरखोलमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय चालक विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । मृतक विश्वकर्मा जिप चालक रहेको प्रहरी चौकि कपुरकोटले जनाएको छ ।

बिरामी बोकेर हिँडेको सो जिपमा चालकसहित चार जना सवार थिए । बिहान करिब पौने पाँच बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई महिला र एक बच्चा घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका(२ नाइघाटकी २२ वर्षीया सुष्मी रोका, ४० वर्षीया ललिता केसी र १८ महिनाकी बालिका सफलता केसी छन् ।

घाइते तीनै जनालाई उद्धार गरेर कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा प्राथमिक उपचार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि दाङको तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्