सुरक्षाबारे अनुगमन गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रदेशमा एआईजीहरुलाई खटायो
काठमाडौं, २५ माघ । प्रतिनिधि सभा सदसयको निर्वाचन निजिकिंदै गर्दा निर्वाचन सुरक्षाबारे अनुगमन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले सबै प्रदेशमा एआईजीहरुलाई खटाएको छ । ७ वटा प्रदेशको निर्वाचन सुरक्षा चुनौतीबारे बुझ्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटिएका हुन् ।
प्रहरी प्रधान कार्यालय स्थित प्रशासन विभागमा कार्यरत एआईजी हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेशको सुरक्षा चुनौती बुझ्न खटिएका छन् ।
मधेस प्रदेशका सबै जिल्लामा पुगेर एआईजी डम्बर बिक काठमाडौँ फर्किएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेश सबैभन्दा संवेदनशील मानिएको छ । चुनाव भन्दा दुई दिन अघि हुने होलीका कारण निर्वाचन प्रभावित हुने आकलन गरिएको छ ।
गण्डकीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एआईजी डा। मनोज केसी, बागमती प्रदेशमा शिद्धी बिक्रम शाह, कर्णालीमा सुशिल सिंह राठौर र कोशी प्रदेशमा राजन अधिकारीलाई खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा कार्य विभागका प्रमुख उमा प्रसाद चतुर्वेदी खटिने भएका छन् ।
एआईजीहरूले निर्वाचन सुरक्षामा हालसम्म भएको तयारी, साधन स्रोतको अवस्था र संवेदनशीलताबारे अध्ययन गर्नेछन् । प्रहरीका एक जना एआईजी भन्छन्, ‘अनुगमनबाट फर्केपछि हामी प्रतिवेदन दिन्छौँ, सो प्रतिवेदनको आधारमा सुरक्षा रणनीति तय गरिने छ ।’
एआईजीहरूले जिल्ला सुरक्षा समितिसँग पनि निर्वाचन सुरक्षा चुनौती र स्थानीय तहमा तय गरिएको रणनीतिबारे बुझ्नेछन् । प्रदेशमा पुगेर फर्केका एक जना एआईजी भन्छन्, ‘प्रहरीको मनोबल बढाउन हामीले दिशानिर्देश गरेका छौँ ।’
प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ लिँदै छ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्ने गरी जङ्गी अड्डासँग २८ सय पेस्तोल माग गरिएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरिसकेको छ ।
२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि प्रहरीले सेनासँग हतियार मागेर चलाएको थियो । त्यसबेला ‘बालगिरी’मा प्रहरीले सेनासँग २८ सय हतियार लिएर थियो ।















प्रतिक्रिया दिनुहोस्